बुटवल उद्योग वाणिज्य संघद्धारा नवउद्यमीलाई व्यावसायिक सशक्तीकरण

बुटवल, साउन १८
बुटवल उद्योग वाणिज्य संघले औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको सहयोगमा सञ्चालन गरेको व्यवसाय प्रवद्र्धन कार्यक्रम औपचारिक रुपमा समापन गरिएको छ। यो कार्यक्रममार्फत नवउद्यमीलाई व्यवसाय सञ्चालन, व्यवस्थापन तथा बजार विस्तारसम्बन्धी व्यावहारिक ज्ञान र सीप प्रदान गरिएको छ ।संघमा सोमबार आयोजना गरिएको समापन कार्यक्रममा बोल्दै संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य हरिप्रसाद अर्यालले उद्यमशिलता विकासका लागि नवउद्यमीलाई प्रोत्साहन गर्ने उदेश्यले विगतदेखि विजनेश इन्कुवेशन कार्यक्रम सञ्चालन गर्दै आएको र यो पटक विजनेश इन्कुवेशनकै मोडालिटिमा व्यवसाय प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। उहाँले नवउद्यमीलाई व्यवसाय स्थापना र विस्तारका लागि आवश्यक ज्ञान, सीप र आत्मविश्वास प्रदान गर्नुका साथै औद्योगिक विकास र राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने समेत विश्वास व्यक्त गर्नुभयो  । 

संघका कार्यकारी निर्देशक मदनकुमार कार्कीका अनुसार २०७६ सालदेखि सञ्चालन हुँदै आएको बिजनेस इन्क्युबेशन कार्यक्रमलाई यस वर्ष औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको सहकार्यमा व्यवसाय प्रवद्र्धन कार्यक्रमका रूपमा अघि बढाइएको हो । यो कार्यक्रममा १३ जना नवउद्यमी सहभागि थिए । उहाँका अनुसार कार्यक्रम अवधिभर सहभागीलाई अनुभवी मेन्टर र सहजकर्तामार्फत नियमित परामर्श, सफल उद्यमीबाट बिजनेस कोचिङ, नेटवर्किङ तथा लेखा व्यवस्थापनलगायत व्यवसाय सञ्चालनका व्यावहारिक पक्षमा प्रशिक्षण गरिएको थियो ।

समापन समारोहमा सहभागी उद्यमीहरूले आफ्नो व्यवसायको वर्तमान अवस्था, तालिमबाट हासिल गरेका अनुभव र भावी योजनाबारे प्रस्तुति दिएका थिए । नेपालमै उत्पादन हुने को–को चकलेटका सञ्चालक मोहित भुसाल, स्वादिष्ट फुड एण्ड प्याकेजिङकी सुमित्रा अर्याल, अल्बाट्रोस ट्रेजर्सकी सिमरन सुनार, सावित्रा ब्युटी पार्लरकी सावित्रा खत्री, सोनी ब्युटी पार्लरकी सावित्रा थापा, एकीकृत मोरङ्गा कृषि फर्मकी जानकी घिमिरे तथा दुना–टपरी उद्योगकी बालिका घिमिरेले आफ्ना व्यवसायको अनुभव, तालिमबाट प्राप्त उपलब्धि र आगामी योजना प्रस्तुत गरेका थिए । त्यसै अवसरमा सहभागी उद्यमीहरूले उत्पादन गरेका सामग्रीको डेमोन्स्ट्रेसनसमेत गरिएको थियो ।

बुटवल उद्योग वाणिज्य संघले २०७६ सालमा पहिलो पटक बिजनेस इन्क्युबेशन कार्यक्रम सुरु गरेको थियो । त्यसयता विजनेश इन्क्युबेशनका तीन संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको र चौथो संस्करणलाई व्यवसाय प्रवद्र्धन कार्यक्रमका रूपमा सञ्चालन गरेको हो । संघका अनुसार अघिल्ला संस्करणका अधिकांश सहभागी नवउद्यमी सफलतापूर्वक व्यवसाय सञ्चालन गर्दै विस्तारको चरणमा पुगेका छन् । यस्ता कार्यक्रमले उद्यमशीलता प्रवद्र्धन, स्थानीय उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा औद्योगिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । 

समापन कार्यक्रममा संघका महासचिव मुक्तिप्रसाद अधिकारी, संघका कार्यसमिति सदस्य तथा बुटवल उपमहानगरपालिका वडा नं. ४ का अध्यक्ष नरिश्वर शर्मा, संघमा गठित व्यूटिपार्लर बस्तुगत समितिकी सभापति रेनु कर्माचार्य लगायतले व्यवसाय प्रवद्र्धन कार्यक्रममा सहभागि नवउद्यमीलाई सफल उद्यमशिल यात्राको शुभकामना व्यक्त गरेका थिए । 
 

प्रतिकृया दिनुहोस