बुटवलबाट ‘मनसुन राष्ट्रिय साप्ताहिक’ को प्रकाशन सुरु
बुटवल ,भदौ २६
रुपन्देहीको बुटवलबाट ‘मनसुन राष्ट्रिय साप्ताहिक’ पत्रिकाको प्रकाशन सुरु भएको छ ।शुक्रवार बुटवलमा आयोजित एक विशेष समारोहकाबीच पत्रिकाको विमोचन गरिएको हो । पहिलो र अन्तिम पृष्ठ रंगीन सहित कुल आठ पेजमा बजारमा आएको साप्ताहिक पत्रिकाले नेपाली पत्रकारिताको मर्म र धर्मलाई आत्मसाथ गर्ने प्रतिबद्धता जनाएको छ । विमोचन कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले मुलुकको विद्यमान आर्थिक शिथिलता र कठिन परिस्थितिकाबीच पनि हिम्मत गरेर मनसुन साप्ताहिक पत्रिका प्रकाशन आरम्भ गरेकोमा प्रकाशन समूहलाई बधाई तथा पूर्ण सफलताको शुभकामना दिनुभयो ।
पत्रिकाका सम्पादक श्यामलाल पोखरेलले मनसुन साप्ताहिकले कसैको दबाब र प्रभावमा नपरी पूर्ण रुपमा निष्पक्ष र निर्भीक पत्रकारिता गर्ने दृढता व्यक्त गर्नुभयो । सम्पादक पोखरेलले समाजका विकृति, विसङ्गति विरुद्ध खरो रुपमा उत्रिँदै उत्पीडित र आवाजविहीनहरुको आवाजलाई मुखरित गर्नु नै पत्रिकाको मुख्य ध्येय रहने स्पष्ट पार्नुभयो । व्यावसायिक पत्रकारिताको मूल्य–मान्यतामा कत्ति पनि सम्झौता नगर्ने उहाँको भनाइ थियो ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले समाचारको लय सधैँ सैद्धान्तिक, वैचारिक र निष्ठामा आधारित हुनपर्ने बताउदै वर्तमान परिपेक्षमा मुलुकको समृद्धि र आर्थिक रुपान्तरणका लागि आर्थिक तथा विकास पत्रकारिता नै आजको मुख्य आवश्यकता रहेकोे बताउनुभयो । पत्रकार डाक्टर बालकृष्ण चापागाईंले छापा माध्यम (प्रिन्ट मिडिया) कमजोर बन्दै जाँदा पत्रकारिता क्षेत्रमै विभिन्न विकृतिहरु भित्रिएको प्रति चिन्ता व्यक्त व्यक्त गर्नुभयो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोख्रेलले नेपाली सञ्चार क्षेत्रले हाल भोगिरहेका नीतिगत र आन्तरिक समस्याहरुका बारेमा चर्चा गर्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश उपाध्यक्ष रामप्रसाद आचार्य ,पत्रकार,उद्योगी, व्यवसायीहरुको सहभागिता रहेको थियो।




प्रतिकृया दिनुहोस