हिलपार्कमा नेपालकै पहिलो सप्तऋषि धाम, धार्मिक पर्यटनको नयाँ गन्तव्य बन्दै

 

बुटवलको पर्यटकीय क्षेत्र हिलपार्कमा नेपालमै पहिलोपटक सप्तऋषि धाम मन्दिर निर्माण गरिएको छ। ऋषि पञ्चमीको अवसरमा मंगलबार धाममा बुटवलका महिला दिदीबहिनीहरूले सामूहिक रूपमा पूजा–आराधना गरेका छन्।सप्तऋषि धाम मन्दिरका अध्यक्ष यदुनाथ पाण्डेका अनुसार ऋषि पञ्चमीका दिन धाममा महिलाहरूको उल्लेख्य सहभागितामा पूजा गरिएको हो। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको सप्तऋषि धाम निर्माणसँगै हिलपार्कको पर्यटकीय आकर्षण थप बढ्ने अपेक्षा गरिएको छ।

प्राकृतिक सौन्दर्यका कारण बुटवलको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित हिलपार्कमा अब धार्मिक पर्यटनलाई समेत जोड्ने नयाँ आधार तयार भएको मन्दिर व्यवस्थापन समितिको भनाइ छ। सप्तऋषिको दर्शन तथा पूजा गर्न आउने भक्तजनका कारण हिलपार्कमा आन्तरिक पर्यटकको आगमन बढ्ने र स्थानीय धार्मिक पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने समितिको विश्वास छ।

ऋषि पञ्चमीका दिन विशेषगरी महिलाहरूले सप्तऋषिको पूजा गर्ने धार्मिक परम्परा रहेको छ। यही परम्परालाई केन्द्रमा राखेर निर्माण गरिएको सप्तऋषि धामले धार्मिक आस्था, संस्कृति र पर्यटनलाई एउटै गन्तव्यमा जोड्ने अपेक्षा गरिएको छ।हिलपार्कमा रहेको सप्तऋषि धामलाई व्यवस्थित गर्दै आवश्यक पूर्वाधार विकास र प्रचार–प्रसार गर्न सके बुटवल आउने पर्यटकका लागि यो नयाँ धार्मिक तथा सांस्कृतिक आकर्षणको केन्द्र बन्न सक्ने देखिन्छ।

प्रतिकृया दिनुहोस