भोटेकोशी बाढी प्रभावितलाई बुटवल अस्पतालको ७ लाख सहयोग

 

बुटवल,२८ भदौ  

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि बुटवल अस्पतालले ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ आर्थिक सहयोग गरेको छ । २५ वर्षदेखि बुटवलमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको सो अस्पतालले  विपद्को समयमा प्रभावित नागरिकसँग ऐक्यवद्धता जनाउँदै सो सहयोग गरेको हो ।

अस्पतालका अध्यक्ष चुन्नप्रसाद शर्मा पौडेलले नेपाल सरकारका अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो । 

कार्यक्रममा अस्पतालका सञ्चालक एवं बुटवलका जनप्रतिनिधि नरिश्वर शर्माको पनि उपस्थिति थियो । प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुग्ने विश्वाससहित सो रकम  ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गरिएको अध्यक्ष पौडेलले बताउनुभयो।

बुटवलको ज्योतिपथमा रहेको सय शय्या क्षमताको हस्पिटलले अनुभवी स्वास्थ्यकर्मी, आधुनिक चिकित्सा प्रविधि तथा पूर्वाधारमार्फत विभिन्न विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै आएको जनाएको छ।

विपद्को समयमा आवश्यक पर्ने थप स्वास्थ्य सहयोगका लागि समेत अस्पताल तयार रहेको अस्पताल प्रशासनले जनाएको छ।

प्रतिकृया दिनुहोस