एकल महिलाको अधिकार र सशक्तीकरणका लागि सहकार्य आवश्यक
बुटवल,भदौ २७
मानव अधिकारका लागि महिला एकल महिला समूह रुपन्देहीको चौथो वार्षिक साधारणसभा बुटवलमा सम्पन्न भएको छ। साधारणसभामा एकल महिलाका अधिकार, सशक्तीकरण तथा उनीहरूले समुदायमा भोग्दै आएका चुनौती समाधानका लागि सामूहिक प्रयास र सहकार्य आवश्यक रहेकोमा जोड दिइएको छ।कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले सामाजिक चुनौतीको सामना गर्दै एकल महिलाहरू संगठित भएर अघि बढेको देख्दा आफूलाई गर्व लागेको बताउनु भयो । उहाँले एकल महिलाका सुख–दुःखमा बुटवल उपमहानगरपालिका सँगै रहेको भन्दै आगामी दिनमा पनि आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
मानव अधिकारका लागि महिला एकल महिला समुह रुपन्देहीका अध्यक्ष रीता सेनले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै रुपन्देहीका १६ वटै स्थानीय तहमा एकल महिलालाई लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन गरिएको जानकारी गराउनु भएको थियो । स्थानीय तहसँगको सहकार्यमा अधिकार, क्षमता विकास तथा सशक्तीकरणका कार्यक्रम सञ्चालन गरिएको र यसमा कुर्वे वस्ट्रोको समेत सहयोग रहेको प्रतिवेदनमा उल्लेख छ।

साधारणसभा कार्यक्रममा बुटवल उपमहानगरपालिकाका न्यायिक समितिका सदस्य इन्दिरा ज्ञवाली ,मानव अधिकारका लागि महिला एकल महिला समूह लुम्बिनी प्रदेशका अध्यक्ष अरूणा श्रेष्ठ, सल्लाहकार पुष्पा ढकाल ,शारदा पौडेल लगायतले बोल्दै एकल महिलाहरू आफ्ना हक, अधिकार र सशक्तीकरणका सवालमा सामूहिक रूपमा संगठित भएर अघि बढ्नुपर्ने बताए। उनीहरूले एकल महिलाका सवाललाई थप प्रभावकारी रूपमा उठाउन स्थानीय तह, संघसंस्था र सरोकारवालाबीच सहकार्य आवश्यक रहेको धारणा ब्यक्त गरे ।
संस्थाका अध्यक्ष रीता सेनको अध्यक्षता, सचिव कला केसीको सञ्चालन तथा सदस्य माया दर्नालको स्वागतमा सम्पन्न कार्यक्रममा रुपन्देहीका १६ वटै पालिकाका एकल महिला, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकारलगायतको सहभागिता रहेको थियो।




प्रतिकृया दिनुहोस