आत्महत्या रोकथामका लागि दृष्टिकोण बदल्नुपर्नेमा जोड
बुटवल,भदौ २७
आत्महत्या रोकथामबारे संवाद सुरु गरौँ, दृष्टिकोण बदलौँ’ भन्ने नाराका साथ विश्व आत्महत्या रोकथाम दिवस रूपन्देहीमा विभिन्न कार्यक्रम गरी मनाइएको छ। दिवसको अवसरमा सिबिन नेपालले ‘मेन्टल हेल्थ म्याटर्स’ परियोजना अन्तर्गत रुपन्देहीको तिलोत्तमा स्थित विश्राम वाटिकामा कार्यक्रम आयोजना गरेको हो। सिबिन नेपाल रूपन्देही बाल हेल्पलाइन प्रमुख विष्णुमाया पौडेलको अध्यक्षता तथा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा सिबिन नेपालका मनोचिकित्सक यसोदा बगालेले स्वागत मन्तव्यसँगै आत्महत्या रोकथामको विश्वव्यापी अवस्था, जोखिमका कारण तथा रोकथामका उपायबारे सहजीकरण गर्नुभएको थियो।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी निरीक्षक कल्पना घर्तीले जिल्लामा प्रहरीमा दर्ता भएका आत्महत्या सम्बन्धी तथ्यांक प्रस्तुत गर्दै आत्महत्या न्यूनीकरणका लागि परिवार, समुदाय, विद्यालय, स्वास्थ्य संस्था, स्थानीय तह तथा सुरक्षा निकाय बीच समन्वय आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँण, सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँ,बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रीदेवी अर्याल, तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरीदेवी चौधरी तथा ओमसतिया गाउँपालिकाका उपाध्यक्ष सुनिता चौधरीले आत्महत्या रोकथामका लागि स्थानीय तहबाट भइरहेका प्रयासबारे जानकारी गराउँदै विद्यालय र समुदायस्तरमा थप सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा ‘आत्महत्या रोकथामका लागि अवको बाटो विषयमा प्यानल छलफल समेत गरिएको थियो। छलफलमा मनोरोग विशेषज्ञ डा। विक्रम काफ्ले, मनोचिकित्सक डा। विनोद पौडेल, बालरोग विशेषज्ञ डा। सुन्दर न्यौपाने तथा प्रहरी निरीक्षक कल्पना घर्ती लगायतको सहभागीता रहेको थियो । प्यानल छलफलको सहजीकरण मनोचिकित्सक यसोदा बगालेले गर्नुभएको थियो। छलफलमा आत्महत्याका कारण, जोखिममा रहेका व्यक्तिलाई पहिचान गर्ने उपाय, मानसिक स्वास्थ्यप्रति समुदायको दृष्टिकोण, समयमै मनोसामाजिक सहयोग उपलब्ध गराउने विषय तथा आत्महत्या न्यूनीकरणका लागि परिवार र समुदायको भूमिकाबारे छलफल गरिएको थियो। कार्यक्रममा तिलोत्तमा, ओमसतिया, बुटवल र सिद्धार्थनगरका जनप्रतिनिधि, स्वास्थ्य शाखाका कर्मचारी तथा स्वास्थ्यकर्मी, विद्यार्थी र सरोकारवालाको सहभागिता थियो। कार्यक्रमको सञ्चालन सिबिन नेपालका फुलमाया पासवानले गर्नुभएको थियो।




प्रतिकृया दिनुहोस