यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका लागि बजेट छुट्याउने वडाध्यक्ष यादवको प्रतिबद्धता
बुटवल,१ असोज
सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष मुक्तिनाथ यादव ‘भोला’ले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका लागि आगामी आर्थिक वर्षको बजेटमा आवश्यक रकम विनियोजन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।समावेशी मञ्च नेपालका लुम्बिनि प्रदेश संयोजक विनोद बीसी र एफएसटीपी रुपन्देहीका किरण गुरुङसँगको भेटघाटका क्रममा वडाध्यक्ष यादवले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो। उहाँले समुदायलाई लक्षित कार्यक्रम सञ्चालनका लागि आवश्यक प्रस्ताव तयार गरी वडा कार्यालयमा पेश गर्न आग्रह समेत गर्नु भएको छ ।
वडाध्यक्ष यादवले आफ्नो वडामा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई लक्षित विशेष कार्यक्रम आयोजना गर्ने बताउँदै कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाभित्र बसोबास गर्ने समुदायका प्रतिनिधि तथा वडाका जनप्रतिनिधिलाई सहभागी गराउने जानकारी दिनुभयो।उहाँले समावेशी मञ्च नेपालका प्रदेश संयोजक विनोद बीसीसँग विगतदेखि नै विभिन्न सामाजिक विषयमा सहकार्य हुँदै आएको स्मरण गर्दै आफू पहिलोपटक निर्वाचनमा उम्मेदवार बनेदेखि नै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबाट निरन्तर साथ र सहयोग प्राप्त भएको बताउनुभयो।“निर्वाचनका क्रममा समुदायले गर्नुभएको सहयोग म कहिल्यै बिर्सने छैन,” उहाँले भन्नुभयो, “आगामी दिनमा पनि समुदायका सवालमा सहकार्यलाई थप प्रभावकारी रूपमा अगाडि बढाउनेछु।”भेटघाटमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका अधिकार, स्थानीय तहका नीति तथा कार्यक्रममा समावेशिता र समुदायमैत्री कार्यक्रम सञ्चालनका विषयमा छलफल भएको थियो। आगामी दिनमा वडा कार्यालय र समुदायबीच समन्वय तथा सहकार्यलाई निरन्तरता दिने विषयमा समेत जोड दिइएको थियो।




प्रतिकृया दिनुहोस