अपाङ्गता भएका बालबालिका र युवाको अधिकार संरक्षणमा प्रभावकारी सञ्जाल निर्माण गर्दै,सिविन नेपाल

बुटवल,१ असोज  

अपांगता भएका बालबालिका, किशोरकिशोरी तथा युवाको संरक्षण, सहभागिता र स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालित ‘डिसेबिलिटी इन नेपाल (बिन) परियोजनाको प्रारम्भिक सरोकारवाला बैठक रुपन्देहीको भैरहवामा सम्पन्न भएको छ।सिबिन नेपालले बुधबार भैरहवामा आयोजना गरेको कार्यक्रममा परियोजनाको उद्देश्य, लक्षित समूह, कार्यक्षेत्र तथा कार्ययोजनाबारे सिबिन नेपालका बिन परियोजना संयोजक अरुण महर्जनले जानकारी गराउनुभएको हो । उहाँका अनुसार परियोजनाले विशेषगरी अपाङ्गता भएका बालबालिका, किशोरकिशोरी, युवा तथा महिलाको अधिकार, संरक्षण, सहभागिता र स्वास्थ्य सेवामा पहुँच बढाउन स्थानीय तह, विद्यालय, प्रहरी, स्वास्थ्य संस्था तथा सामाजिक संघसंस्थासँग सहकार्य गर्नेछ।

परियोजनाअन्तर्गत अपांगता भएका बालबालिकाको बाल संरक्षणमा पहुँच, अपाङ्गता भएका युवाको जीवन सीप, आत्मविश्वास, सामाजिक सहभागिता र स्व–अधिवक्तृत्व विकास तथा विशेषगरी सेवा कम पुगेका क्षेत्रमा रहेका अपाङ्गता भएका बालबालिकाका लागि पुनःस्थापना, सहायक उपकरण र स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने लक्ष्य राखिएको छ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाईंले अपांगता भएका बालबालिका तथा युवाका सवालमा सरकारी तथा गैरसरकारी क्षेत्रबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो। उहाले रुपन्देहीमा बिन परियोजना सञ्चालन हुनुले अपाङ्गता भएका व्यक्तिका सवाललाई थप प्राथमिकताका साथ सम्बोधन गर्न सहयोग पुग्ने बताउदै परियोजना सफल बनाउन समन्वय सहकार्यको भुमिका निर्वाह गर्ने प्रतिबद्दता ब्यक्त गर्नु भयो ।

कार्यक्रममा विशिष्ट अतिथि सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इस्नियात खाँ,रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादव,अतिथि सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारी, रोहिणी गाउँपालिकाका उपाध्यक्ष शिवकान्ति चौमार, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक कल्पना घर्ती, अपाङ्गता अधिकारकर्मी सावित्री घिमिरे, अपाङ्गता भएका बालबालिकाका अभिभावक, बहिरा विद्यालयका प्रधानाध्यापक भीम थापा, अपाङ्गता शिक्षक रामप्रसाद पौडेल तथा शान्ति नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक लोकनाथ भुसाल लगायतले बोल्दै परियोजनाको प्रभावकारी कार्यान्वयनका लागि स्थानीयस्तरबाट सहयोग गर्ने बताए ।

उनिहरुले अपाङ्गता भएका बालबालिका तथा युवाको विषय संवेदनशील भएकाले उनीहरूको संरक्षण, शिक्षा, स्वास्थ्य, पुनःस्थापना तथा सामाजिक सहभागितामा विशेष ध्यान दिनुपर्ने बताउँदै रुपन्देहीमा परियोजना सञ्चालन हुन लागेकोमा खुसी व्यक्त गर्नुभयो। परियोजनाको कार्यान्वयनका क्रममा आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।सिबिन नेपालका निर्देशक कुमार भट्टाईले सिबिन नेपालले विगत चार दशकदेखि बालबालिकाको अधिकार, संरक्षण र प्रवर्द्धनका क्षेत्रमा काम गर्दै आएको बताउनुभयो। उहाले विभिन्न परियोजनामार्फत बालबालिकाको संरक्षण र अधिकार प्रवर्द्धनका लागि  सिविनले सरकारलाई सहयोग गर्दै आएको उल्लेख गर्नु भयो ।
अपाङ्गता भएका बालबालिका तथा युवाका सवालमा काम गर्दा सम्बन्धित समुदायको अर्थपूर्ण सहभागितालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो।

बिन परियोजना एक वर्षको अवधिका लागि सञ्चालन हुने जनाइएको छ। परियोजनाले विशेषगरी ग्रामीण तथा पहाडी क्षेत्रमा रहेका अपांगता भएका बालबालिका, किशोरकिशोरी, युवा र महिलालाई लक्षित गर्नेछ। स्थानीय आवश्यकता पहिचान गरी उनीहरूको संरक्षण, जीवन सीप, सहभागिता, स्वास्थ्य तथा पुनःस्थापना सेवामा पहुँच बढाउने परियोजनाको उद्देश्य रहेको सिबिन नेपालले जनाएको छ।परियोजना सञ्चालनका क्रममा प्रहरी, स्थानीय तह, विद्यालय, स्वास्थ्य संस्था, सामाजिक संघसंस्था, अभिभावक तथा अपाङ्गता अधिकारकर्मीसँग सहकार्य गरिनेछ। हाल बिन परियोजना लुम्बिनी, गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा सञ्चालन भइरहेको सिबिन नेपालले जनाएको छ।

कार्यक्रम सिबिन नेपालका कार्यकारी निर्देशक कुमार भट्टाईको अध्यक्षता तथा सिबिन नेपालद्वारा सञ्चालित बाल हेल्पलाइन रुपन्देहीकी प्रमुख विष्णुमाया पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारी, विद्यालयका प्रधानाध्यापक तथा शिक्षक, अपांगता भएका बालबालिकाका अभिभावक, अधिकारकर्मी, सामाजिक संघसंस्थाका प्रतिनिधि र पत्रकारको सहभागिता थियो।

प्रतिकृया दिनुहोस