दशैँका लागि २३ गतेदेखि अग्रिम टिकट खुल्ने

 

काठमाडौँ, २० असोज 

दशैँमा घर फर्किने यात्रुको चाप व्यवस्थापन गर्न सरकारले २३ असोजदेखि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गर्ने भएको छ ।

यातायात व्यवस्था विभागले मंगलवार राष्ट्रिय यातायात व्यवसायी महासंघ, ट्रक व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ, यातायातसम्बद्ध मजदुर संघ–संगठन, ट्राफिक प्रहरीलगायत सरोकारवालासँग छलफल गरी दशैँको यातायात व्यवस्थापनका लागि बुकिङ् खुलाउने निर्णय गरेको हो । विभागका महानिर्देशक राजीव पोखरेलका अनुसार २३ असोजदेखि अग्रिम टिकट बुकिङ खुला गरिनेछ । लामो तथा मध्यम दूरीका सवारीसाधनलाई यात्रुको चापअनुसार रिजर्भमा सञ्चालन गर्न फूलपातीदेखि पूर्णिमासम्म रुट परमिटसमेत खुला गरिएको छ । दशैँमा छोटो अवधिमा ठूलो संख्यामा यात्रु आवतजावत गर्ने भएकाले नियमित रुटका सवारीसाधनसँगै रिजर्भ सवारी सञ्चालनलाई समेत व्यवस्थित गर्न रुट परमिट खुला गरिएको छ ।   

महानिर्देशक पोखरेलले भन्नुभयो,‘हामीले यातायात क्षेत्रका राष्ट्रिय यातायात व्यवसायी महासंघ, ट्रक व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ, यातायातसँग सम्बन्धित मजदुर संघ–संगठनका प्रतिनिधि तथा अध्यक्षज्यूहरू, ट्राफिक प्रहरीलगायत सम्पूर्ण सरोकारवालासँग छलफल गरी केही निर्णयहरू गरेका छौँ । त्यो निर्णयअनुसार हामीले २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने भएका छौँ । त्यस्तै, लामो रुट तथा मध्यम दूरीका गाडीहरूलाई रिजर्भमा जानका लागि रुट परमिट पनि यस अवधिमा खुला गरेका छौँ । फूलपातीदेखि पूर्णिमासम्म रुट परमिट खुला रहनेछ । त्यस्तै, उक्त अवधिमा ढुवानीका सवारीसाधनहरूले अत्यावश्यक वस्तुहरू मात्र ढुवानी गर्ने निर्णय गरेका छौँ । फलफूल, तरकारी, औषधि, खसी–बोकालगायत अत्यावश्यक खाद्यान्न तथा सामग्रीहरूलाई प्राथमिकताका साथ ढुवानी गर्ने र अन्य सामग्रीको ढुवानीलाई पछि सार्ने निर्णय गरिएको छ ।

यसबाट यातायातको चाप व्यवस्थापन गर्न सकियोस् भन्ने हाम्रो उद्देश्य हो । यसअघि पनि हामीले यस विषयमा विभिन्न चरणमा छलफल गरेका थियौँ। ती छलफलबाट आएका सुझावहरूलाई थप परिमार्जन गर्दै विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गर्ने, भाडादर सार्वजनिक गर्ने तथा भाडादरमा पारदर्शिता कायम गर्ने निर्णय गरेका छौँ । त्यस्तै, सहायता कक्षमार्फत कसैलाई समस्या परेमा, टिकट नपाएमा वा टिकटमा कालोबजारी भएको पाइएमा त्यससम्बन्धी सूचना लिने र आवश्यक कारबाही गर्ने व्यवस्था पनि गरेका छौँ । घटस्थापनादेखि पूर्णिमासम्मको अवधिमा ठूला तथा मझौला गाडीहरू, लामो रुटका गाडीहरू तथा मध्यम दूरीका गाडीहरूलाई कसरी व्यवस्थित गर्ने भन्ने विषय नै आजको मुख्य विषय हो । यसका लागि हामीले विभिन्न ठाउँमा हाम्रा काउन्टरहरू स्थापना गरेका छौँ । बसपार्क, कोटेश्वर, बल्खुलगायत मुख्य काउन्टरहरूमा यातायात व्यवस्था विभागका निर्देशकज्यूहरू, यातायात व्यवसायी महासंघ, मजदुर साथीहरू तथा ट्राफिक प्रहरीसहितको एउटा कमिटी गठन गरेका छौँ । उक्त कमिटीले सम्बन्धित क्षेत्रमा देखिएका समस्याहरू पहिचान गरी तिनको समाधान गर्नेछ । त्यति गर्दा पनि कसैलाई अप्ठ्यारो परेमा सम्बन्धित सम्पर्क व्यक्तिको नम्बर उपलब्ध गराउनेछौँ । विभागको वेबसाइटमा उक्त नम्बर हेरेर सम्बन्धित व्यक्तिसँग सम्पर्क तथा छलफल गर्न सक्नुहुनेछ  १०० नम्बरमा ट्राफिक प्रहरीलाई खबर गरेर पनि समस्या तत्काल जानकारी गराउन सकिनेछ । प्राप्त समस्याहरूलाई तत्काल सम्बोधन गर्ने निर्णय गरेका छौँ ।’

उहाँकाअनुसार दशैंको समयमा यातायातमा चाप बढ्ने भएकाले ढुवानीका सवारीसाधनको सञ्चालनमा समेत केही व्यवस्थापन गरिएको छ । फूलपातीदेखि पूर्णिमासम्म ढुवानीका सवारीसाधनले अत्यावश्यक वस्तुलाई प्राथमिकताका साथ ढुवानी गर्ने निर्णय भएको छ । फलफूल, तरकारी, औषधि, खसी–बोका तथा अत्यावश्यक खाद्यान्न र सामग्रीको ढुवानीलाई प्राथमिकता दिइनेछ । अन्य सामग्रीको ढुवानीलाई आवश्यकताअनुसार पछि सार्ने निर्णय भएको छ ।

पोखरेलकाअनुसार दशैँमा टिकट बिक्री तथा सवारीसाधन सञ्चालनका क्रममा यात्रुले भोग्ने समस्या तत्काल सम्बोधन गर्न विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।  हाल १५ ठाउँमा नागरिक सहायता कक्ष सञ्चालनमा छन् । बसपार्क, कोटेश्वर, बल्खुलगायत मुख्य स्थानमा यातायात व्यवस्था विभागका प्रतिनिधि, यातायात व्यवसायी, मजदुर संगठन तथा ट्राफिक प्रहरी सम्मिलित कमिटीसमेत गठन गरिएको छ । यस्ता कमिटीले सम्बन्धित क्षेत्रमा देखिएका समस्या पहिचान गरी तत्काल समाधान गर्नेछन् । टिकट नपाएको, तोकिएकोभन्दा बढी भाडा लिएको, टिकटमा कालोबजारी भएको वा यात्रुलाई अन्य कुनै समस्या परेको अवस्थामा सहायता कक्षमार्फत जानकारी लिने र आवश्यक कारबाही गर्ने व्यवस्था गरिएको छ । महानिर्देशक पोखरेलले कुनैपनि किसिमका बिचौलियामार्फत कालोबजारी गर्न छुट नदिइने बताउनु भयो । यात्रु सहायता कक्ष तथा तोकिएका काउन्टरमा भाडादरको सूची राखिने र सोहीअनुसार मात्र भाडा लिनुपर्ने व्यवस्था गरिएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले बसपार्कभित्रबाट सञ्चालन हुने लामो दूरीका सवारीसाधनका लागि महासंघले काउन्टर उपलब्ध गराएको बताउनु भयो । ती काउन्टरबाट टिकट काट्दा राज्यले तोकेको भाडादरभन्दा कम भाडा लिन आग्रह गरिएको बताउनु भयो । उहाँकाअनुसार राज्यले तोकेको भाडाभन्दा बढी रकम लिइनेछैन । यदी त्यस्तो पाइए सरकारले कारबाही गर्न सक्ने उहाँको भनाइ छ ।

सिटौलाले भन्नुभयो,‘कुनै पनि किसिमको बिचौलियामार्फत कालोबजारी गर्ने छुट हुँदै हुँदैन । तोकिएका सम्बन्धित स्थानहरूमा परिचयपत्र, परिचय कार्डलगायतका आवश्यक व्यवस्था गरिएको छ । तोकिएका स्थानमा तोकिएकोभन्दा बढी भाडा लिन पाइँदैन र लिनु पनि हुँदैन । नागरिक सहायता कक्षहरू १५ ठाउँमा स्थापना गरिएका छन् । अस्ति राष्ट्रिय बसपार्कमा राठौर साब लगायतका साथीहरूसँगै म स्वयं पनि गएको थिएँ । अहिले सबै ठाउँमा सहायता कक्षहरू सञ्चालनमा छन् । यो छोटो समय, करिब १०–१२ दिनको अवधिमा १५–१६ लाख यात्रुलाई व्यवस्थापन गर्नुपर्ने अवस्था हो । यो भोटेकोशीको बाढीजस्तै ठूलो चुनौती हो  । यति धेरै यात्रुलाई छोटो समयमा व्यवस्थापन गर्नुपर्ने भएकाले चुनौतीपूर्ण अवस्था छ । म अधिकतम के भन्न चाहन्छु भने, कसैले पनि यात्रुलाई हैरान पार्नु हुँदैन । म सबैलाई यही आग्रह गर्न चाहन्छु । बरु एक रुपैयाँ कम लिनुहोस्, तर तोकिएकोभन्दा बढी भाडा नलिनुहोस् । दशैँको समयमा व्यवसाय एकतर्फी हुने भएकाले नाफाभन्दा पनि यात्रुलाई सहज सेवा दिने कुरालाई प्राथमिकता दिनुपर्छ । त्यस्तै, विचौलियाको गतिविधिबाट पनि टाढा रहनुपर्छ । तोकिएका स्थानमा तोकिएको भाडादरको सूची टाँसिएको छ । सोही सूचीअनुसार मात्र भाडा लिनुपर्छ । बल्खुलगायत केही स्थानका सम्बन्धमा पनि गुनासाहरू आएका छन् । त्यस विषयमा आज हामीले थप गम्भीरतापूर्वक छलफल गरेका छौँ । तोकिएको भाडादरअनुसार नै सेवा सञ्चालन गर्नुपर्छ भन्ने स्पष्ट निर्देशन दिएका छौँ । यसका लागि सबै पक्षबीच समन्वय आवश्यक छ । यातायात व्यवसायी, मजदुर, ट्राफिक प्रहरी, सम्बन्धित निकाय तथा अन्य सरोकारवाला सबैले समन्वय गरेर यात्रुलाई सहज र सुरक्षित सेवा उपलब्ध गराउनुपर्छ ।’

लक्ष्मी बहुउद्देश्य प्रा।लि।का महाप्रवन्धक पंकज मल्लले बसपार्कभित्रबाट सञ्चालन हुने लामो दूरीका गाडीका लागि उपलब्ध काउन्टरबाट राज्यले तोकेको भाडाअनुसार टिकट बिक्री हुने बताउनु भयो । उहाँकाअनुसार काउन्टरबाट टिकट काट्दा तोकिएको भाडाभन्दा ५ रुपैयाँसम्म कम भाडा लिन भनिएको छ । तोकिएकोभन्दा बढी भाडा लिएको पाइए तत्काल कारबाही हुनुपर्ने उहाँको भनाइ छ । बसपार्कमा थप सवारीसाधन सञ्चालन गर्दा बढी भाडा लिएको पाइएमा सम्बन्धित गाडी तथा व्यक्तिमाथि कारबाही गर्न ट्राफिक प्रहरी, मजदुर संगठन र सम्बन्धित निकायलाई समेत आग्रह गरिएको उहाँले बताउनु भयो ।  

मल्लले भन्नुभयो,‘बसपार्कभित्रबाट सञ्चालन हुने लामो दूरीका गाडीहरू, जुन हाम्रो मातहतमा चल्छन्, तिनका लागि यातायात व्यवसायी महासंघले काउन्टर उपलब्ध गराएको छ । ती काउन्टरबाट टिकट काट्दा तोकिएको भाडाभन्दा ५ रुपैयाँसम्म कम भाडा लिइन्छ । त्यसबाहेक बढी भाडा लिइँदैन । कसैले बढी भाडा लिएको पाइएमा तत्कालै  कारबाही हुन्छ । यो कुरा म यहाँहरूलाई ग्यारेन्टीका साथ भन्न सक्छु । किनभने यस वर्ष बसपार्कभित्रबाट टिकट काट्ने, सम्बन्धित परिचयपत्र बोकेर हिँड्ने तथा अनलाइन वा अफलाइन टिकट काट्ने व्यक्तिले तोकिएकोभन्दा बढी भाडा लिएको अहिलेसम्म प्रमाणित भएको छैन । अब ट्राफिक प्रहरी, तीनवटा मजदुर युनियन तथा सम्बन्धित निकायहरूलाई मैले स्पष्ट रूपमा भनेको छु, बसपार्कमा थप गाडी सञ्चालन गर्दा त्यसबाट बढी भाडा लिएको पाइएमा त्यस्ता गाडी तथा व्यक्तिमाथि कारबाही गर्ने जिम्मेवारी ट्राफिक प्रहरी र प्रहरीको हो । बसपार्कमा हामीले काउन्टरमार्फत टिकट काट्छौँ र राज्यले तोकेको भाडा नै लिन्छौँ । तर कतिपयले ‘रिजर्भ’को नाममा ३ हजार ५ सय, ४ हजार रुपैयाँसम्म भाडा लिएर यातायात व्यवस्थापनलाई नै अस्तव्यस्त बनाउने गरेको पाइएको छ । त्यस्ता गाडीहरू बसपार्कभित्र सञ्चालन हुन नदिन मैले अनुरोध गरेको छु । राज्यले तोकेको भाडाभन्दा बढी रकम लिएर यात्रुलाई सेवा दिने त्यस्ता गाडी तथा व्यक्तिमाथि आवश्यक कारबाही हुनुपर्छ  ।ु

यात्रु चाप अत्यधिक हुने मुख्य स्थानमा गठन गरिएका संयुक्त कमिटीले स्थानीय समस्या तत्काल पहिचान गरी समाधान गरिने यातायात व्यवस्था विभागले जानकारी दिएको छ । यसबाट टिकट विक्रीदेखि सवारी सञ्चालनसम्म देखिन सक्ने समस्या घटाउने विभागको  भनाइ छ । 

प्रतिकृया दिनुहोस
↑