आजबाट नेपालीहरुको महान पर्व बडादशैँ सुरु

 

काठमाडौँ,२५ असोज

नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । आज घटस्थापनाको साइत बिहान ११ बजेर ४७ मिनेटमा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

आज दिनभर चित्रा नक्षत्र परेकाले शास्त्रीय वचनअनुसार मध्याह्नकालमा अभिजित् मुहूर्तको साइत घटस्थापनाका लागि दिइएको समितिका अध्यक्ष सहप्राध्यापक डा। पुरुषोत्तम भट्टराईले बताउनुभयो। सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यताअनुसार नै समितिले आजको दिनलाई घटस्थापना भनी निर्णय गरेको उहाँले जानकारी दिनुभयो । केही मानिसले सामाजिक सञ्जालमा घटस्थापना सोमबार गर्ने भनी गरेको हल्लाखल्ला शास्त्रसम्मत नहुने पनि उहाँले बताउनुभयो ।

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ । बडादशैंको पहिलो दिन आज घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ ।

गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई जौ छरेर विधिपूर्वक जमरा राखिन्छ । जौको अंकुर दुर्गा देवीको प्रिय वस्तु भएकाले दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसहित समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।

विधिपूर्वक स्थापना गरिएको घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गरिन्छ ।

कसैकसैले जौ बाहेक गहुँ र मकैको  पनि जमरा राख्ने गर्दछन्, तर जमरामा जौ बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको नेपाल पञ्चांग निर्णायक समितिका पूर्वअध्यक्ष रामचन्द्र गौतम बताउनुभयो ।

घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र भनिन्छ । नवरात्रभर अधिष्ठात्री देवी दुर्गाका नौ रुपको पूजा गरिन्छ ।

नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।

बडादशैंको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्राइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरुले दशैँ घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्दछन् ।

नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम् स्तुतिको पाठ गरिन्छ । यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवती, भद्रकाली, मैतीदेवी लगायत देशभरका देवी मन्दिर अर्थात् शक्तिपीठमा पूजा आराधना एवम दर्शनार्थीको भीड लाग्छ ।

दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ । दुर्गा पूजा र दशैँ पर्व कुनै जात एवम् धर्म विशेषको भनी शास्त्रीय रुपमा प्रमाण नभएको यो मानव मात्रको कल्याणका पक्षमा काम गर्ने शक्तिको प्रतीकका रुपमा मनाउने गरिएको धर्मशास्त्रका जानकारहरु बताउँछन् ।

यस वर्षको दशैंको टीका कात्तिक ४ गते परेको छ । पञ्चाङ्ग निर्णायक समितिले टीका लगाउने उत्तम साइत कात्तिक ४ गते बिहान १० बजेर २६ मिनेटलाई तोकेको छ ।

प्रतिकृया दिनुहोस
↑