‘मिना दिदी पुरस्कार’ २०८३ - रसुवाकी शिक्षिका अनुजा आचार्यलाई
काठमाडौं ,असोज २५
यस वर्षको ‘मिना दिदी पुरस्कार–२०८३’ रसुवाकी शिक्षिका अनुजा अधिकारी आचार्यलाई प्रदान गरिने भएको छ । भोटेकोशीमा आएको बाढीका बेला आपत्कालीन अवस्थामा विद्यार्थीहरूको जीवनरक्षाका लागि शिक्षकका रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको सम्मानस्वरूप उनलाई यस वर्षको पुरस्कारका लागि छनोट गरिएको पुरस्कार समितिका सदस्यसचिव उमानाथ पोखरेलले जानकारी दिनुभएको छ ।
रसुवाको उत्तरगया गाउँपालिका–५ निवासी आचार्यले विसं २०८३ भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीका क्रममा विद्यार्थीहरूको ज्यान जोगाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । विपद्को कठिन परिस्थितिमा विद्यार्थीहरूको सुरक्षाका लागि उहाँले देखाउनुभएको साहस, जिम्मेवारीबोध र मानवीय संवेदनशीलतालाई पुरस्कार छनोटको प्रमुख आधार बनाइएको समितिले जनाएको छ ।
शिक्षकको दायित्व कक्षाकोठामा पठनपाठन गराउनुमा मात्र सीमित नरही सङ्कटका बेला विद्यार्थीहरूको जीवनरक्षा गर्नु पनि हो भन्ने उदाहरण आचार्यले प्रस्तुत गर्नुभएको छ । आपत्कालीन अवस्थामा विद्यार्थीहरूको जीवनलाई प्राथमिकता दिँदै उहाँले निर्वाह गर्नुभएको भूमिकाको कदरस्वरूप यस वर्ष पुरस्कृत गर्न लागिएको हो ।
समाजसेवी तथा प्राध्यापक आरती कार्की र मदन पुरस्कार विजेता साहित्यकार डा. नीलम कार्की निहारिकाले आफ्नी आमा स्वर्गीय मिनाकुमारी कार्कीको स्मृतिमा यो पुरस्कार स्थापना गर्नुभएको हो । शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने एक जना महिला शिक्षकलाई प्रत्येक वर्ष यो पुरस्कार प्रदान गर्ने व्यवस्था छ ।
महिलाहरूलाई औपचारिक शिक्षा प्राप्त गर्ने अवसर अत्यन्त सीमित रहेको समयमा मिनाकुमारी कार्कीले ग्रामीण क्षेत्रमा शिक्षाको विकास र विस्तारका लागि महत्त्वपूर्ण योगदान पुर्याउनुभएको थियो । विसं २०२३ सालदेखि शिक्षण पेसा सुरु गर्नुभएकी उहाँले अर्घाखाँची र पाल्पाको झडेवास्थित किसान माध्यमिक विद्यालयमा गरी २७ वर्ष अध्यापन गर्नुभएको थियो ।
छोरीहरूलाई विद्यालय पठाउन हिचकिचाउने तत्कालीन समाजमा उहाँ घरघरमा पुगेर अभिभावकहरूलाई छोरीहरूलाई पनि पढाउनुपर्छ भन्दै सम्झाउने र उत्प्रेरित गर्ने गर्नुहुन्थ्यो। पाल्पाको किसान माध्यमिक विद्यालयमा ‘मिना दिदी’का नामले परिचित उहाँको सम्मानमा विद्यालयका भूतपूर्व विद्यार्थीहरूले उहाँ जीवित छँदै ‘मिना दिदी’ नामक पुस्तकसमेत प्रकाशन गरेका थिए । उहाँको निधन २०७८ साल माघ २१ गते भएको थियो ।
गत वर्ष पहिलोपटक ‘मिना दिदी पुरस्कार’ बैतडीकी पहिलो महिला शिक्षिका कृष्णा विष्टलाई प्रदान गरिएको थियो । ग्रामीण क्षेत्रमा शिक्षाको विस्तार, बालिका शिक्षा, महिला सशक्तीकरण, छाउपडी प्रथा न्यूनीकरण तथा सामाजिक रूपान्तरणमा पुर्याउनुभएको योगदानको सम्मान गर्दै उहाँलाई पुरस्कृत गरिएको थियो । पुरस्कारको राशि ५१ हजार रुपैयाँ रहेको छ ।





प्रतिकृया दिनुहोस