बडादसैँ : असत्यमाथि सत्यको विजय र नारी शक्तिको पूजा गर्ने पर्व : ज्योतिष जनार्दन न्यौपाने

बुटवल, असोज २५
विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष युवा ज्योतिष जनार्दन न्यौपानेले नेपालीहरूको महान् पर्व बडादसैँ नारी शक्तिको पूजा, आराधना र सम्मान गरिने पर्व भएको बताउनुभएको छ।उहाँले यो पर्व असत्यमाथि सत्यको विजय र नारी शक्तिको आशीर्वाद लिने पर्वका रूपमा रहेको बताउँदै बडादसैँ सबै वर्गको अस्तित्वसँग जोडिएको उल्लेख गर्नुभयो।

इनरह्वील क्लब अफ मिडटाउन बुटवलको आयोजनामा आइतबार आयोजित बडादसैँ, शुभदीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान तथा दुर्गा महिमा प्रवचन कार्यक्रममा बोल्दै उहाँले शास्त्रमा महिलाको स्थान उच्च रहेको बताउनुभयो।क्लबले दुर्गा माताको महिमा, धार्मिक आस्था तथा भक्तिभावको प्रचारप्रसार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा दुर्गा माताको सम्मान, पूजा–आराधना तथा दसैँका १० दिनसम्म गरिने धार्मिक विधिका विषयमा प्रवचन दिइएको थियो।

कार्यक्रममा क्लबका अध्यक्ष सुशीला पोखरेलले दुर्गा माताको महिमा र धार्मिक आस्थाबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। कार्यक्रमका प्रमुख वक्ता ज्योतिष न्यौपानेले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादसैँ मनाइने बताउनुभयो। उहाँले बडादसैँको पहिलो दिन आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिने जानकारी दिनुभयो। आज विधिपूर्वक स्थापना गरिएको घटमाथि शक्तिस्वरूपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भनिएको हो, ज्योतिषी न्यौपानेले भन्नुभयो। आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिन दुर्गा देवीको प्रसाद ग्रहण गरिन्छ।

कसैकसैले जौबाहेक गहुँ र मकैको पनि जमरा राख्ने गरेका छन्। तर जमरामा जौबाहेक अन्य अन्न रोप्ने शास्त्रीय विधि नभएको विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष न्यौपानेले बताउनुभयो।उहाँका अनुसार घटस्थापनादेखि विजयादशमीसम्मको अवधिलाई नवरात्र भनिन्छ भने नवरात्रभर अधिष्ठात्री देवी दुर्गाका नौ रूपको पूजा गरिन्छ। नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गरिने विधि रहेको न्यौपानेले बताउनुभयो।

बडादसैँको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ। महाष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरूले दसैँघर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्छन्।
नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत् र अन्य देवी स्तोत्र एवम् स्तुतिको पाठ गरिन्छ। दसैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ। कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक्ट ३५० नेपालका पूर्वडिस्ट्रिक्ट चेयरमेन आशा श्रेष्ठले दुर्गा माताको महिमा, धार्मिक आस्था तथा भक्तिभावको प्रचारप्रसार गर्न यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले पर्वहरूले आपसी सद्भाव, एकता र आत्मीयता बढाउन सहयोग गर्ने विश्वास व्यक्त गर्दै उपस्थित सबैलाई पर्वको शुभकामना दिनुभयो।

उहाँले दुर्गा माताको महिमाले अन्यायविरुद्ध लड्न, सत्यको बाटोमा हिँड्न र सधैँ असल कर्म गर्न प्रेरणा दिने उल्लेख गर्नुभयो। श्रद्धा र भक्तिपूर्वक पूजा–आराधना गर्दै परिवारको सुख, शान्ति, समृद्धि तथा कल्याणको कामना गर्नुपर्ने उहाँले बताउनुभयो।विशिष्ट अतिथि रोटरी क्लब अफ बुटवलका अध्यक्ष यदुनाथ पाण्डेले माताको पूजा–आराधना गर्नाले मनमा शान्ति, साहस र सकारात्मक ऊर्जा प्राप्त हुने जनविश्वास रहेको बताउनुभयो।  

क्लबका पूर्वअध्यक्ष राधा भट्टराईले दुर्गा माताको महिमालाई समेटेर धार्मिक कार्यक्रम तथा शुभकामना आदानप्रदान आयोजना गरेकोमा क्लबलाई धन्यवाद दिनुभयो।  कार्यक्रममा क्लबका पूर्वअध्यक्ष, सल्लाहकार तथा बोर्डका सम्पूर्ण पदाधिकारी र सदस्यहरूको उपस्थिति रहेको थियो।

क्लबका उपाध्यक्ष (भिपी) गीता खनालले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन क्लबकी सचिव सुधा न्यौपानेले गर्नुभएको थियो। कार्यक्रममा सहभागीहरूले विजयादशमी, शुभदीपावली पर्वले सबैमा सुख, शान्ति, समृद्धि र आपसी सद्भाव कायम गर्न सहयोग पुगोस् भन्ने कामना गरेका थिए। यस वर्षको दसैँको टीका कात्तिक ४ गते परेको छ। पञ्चाङ्ग निर्णायक समितिले टीका लगाउने उत्तम साइत कात्तिक ४ गते बिहान १० बजेर २६ मिनेटलाई तोकेको छ।

प्रतिकृया दिनुहोस
↑