नेपालमा भारी वर्षाको जोखिम कायमै, हिमाली क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन आग्रह
काठमाडौं, कात्तिक १०
चक्रवात ‘अर्नब’का कारण नेपालमा हुन सक्ने वर्षाबारे मौसम पूर्वानुमानमा अन्योल बढेको छ। पछिल्लो २४ घण्टामा ग्लोबल फोरकास्ट सिस्टम ९जीएफएस० को पूर्वानुमानमा ठूलो परिवर्तन देखिएसँगै नेपालमा भारी वर्षा हुने वा लामो समयसम्म हल्का वर्षा भइरहने भन्ने विषयमा अनिश्चितता बढेको हो।
मौसमविद् विनोद पोखरेलका अनुसार जीएफएसको पछिल्लो पूर्वानुमानले अर्को चक्रवातसमेत विकास हुन सक्ने संकेत गरेको छ। यद्यपि, अन्य मौसम पूर्वानुमान मोडेलहरूले तत्काल अर्को चक्रवात बन्ने स्पष्ट संकेत देखाएका छैनन्। पछिल्लो परिवर्तनसँगै चक्रवात ‘अर्नब’बाट नेपालमा पर्न सक्ने जोखिम भने घटेको उहाँले बताउनुभएको छ।
दुई सम्भावनाका आधारमा मौसमको आकलन
पोखरेलका अनुसार अबको मौसमी अवस्थालाई मुख्यतः दुई सम्भावनाका आधारमा हेर्नुपर्ने देखिएको छ। अर्को चक्रवात विकास भएमा त्यसले ‘अर्नब’लाई कमजोर बनाउन सक्ने र नेपालमा भारी वर्षाको सम्भावना घट्न सक्ने उहाँको आकलन छ। यस्तो अवस्थामा सोमबारसम्म हल्का वर्षा हुन सक्ने उहाँले बताउनुभएको छ।
तर, अर्को चक्रवात विकास नभएमा वा ढिलो गरी विकास भएमा बिहीबारदेखि शनिबारसम्म नेपालमा भारी वर्षा हुने सम्भावना कायमै रहने उहाँको भनाइ छ। उहाँका अनुसार अहिले अधिकांश अन्य मौसम पूर्वानुमान मोडेलले पनि यही सम्भावनालाई संकेत गरिरहेका छन्। “त्यसैले यो मौसमी प्रणालीको विकास र प्रभावबारे पूर्वानुमान गर्न निकै चुनौतीपूर्ण देखिएको छ,” पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ।
बिहीबारदेखि वर्षा सुरु हुन सक्ने अनुमान
पोखरेलका अनुसार चक्रवात ‘अर्नब’ आज अपराह्न वा साँझ भारतको विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा पुग्ने अनुमान छ। यसको प्रभाव नेपालमा भोलिदेखि बादल लाग्न थालेसँगै देखिन सक्ने भए पनि वर्षा भने बिहीबारदेखि सुरु हुने सम्भावना छ।
यस मौसमी प्रणालीको प्रभावले गण्डकी प्रदेशदेखि कोसी प्रदेशसम्मका धेरै स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान अझै कायम रहेको उहाँले बताउनुभएको छ। एउटा मौसम पूर्वानुमान मोडेलले अन्य मोडेलभन्दा फरक नतिजा देखाएकाले वर्षाको मात्रा र अवधि यकिन गर्न कठिन भएको उहाँको भनाइ छ।
यद्यपि, सातवटा मौसम पूर्वानुमान मोडेलको समग्र विश्लेषण गर्दा नेपालमा भारी वर्षाको सम्भावना अझै देखिएको पोखरेलले उल्लेख गर्नुभएको छ।
हिमाली यात्रामा सावधानी अपनाउन आग्रह
सम्भावित मौसमी जोखिमलाई ध्यानमा राख्दै मौसमविद् पोखरेलले हिमाली क्षेत्रमा यात्रा गर्नेहरूलाई विशेष सावधानी अपनाउन आग्रह गर्नुभएको छ।त्यसैगरी, किसानहरूलाई काटिसकेको तथा काट्न तयार धानबाली सुरक्षित राख्न आवश्यक तयारी गर्न सुझाव दिनुभएको छ।





प्रतिकृया दिनुहोस