लुम्बिनी बचाऊ महाअभियानका संयोजक खानसहित दुई जना पक्राउ

बुटवल,कार्तिक १० 

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त भएपछि त्यसको विरोधमा आन्दोलन गर्दै आउनुभएका लुम्बिनी बचाऊ महाअभियानका संयोजक अकराम खानसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पुर्‍याएको आरोपमा उहाँहरूलाई सोमबार राति नियन्त्रणमा लिइएको हो । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–६ स्थित सार्वजनिक स्थानमा उच्छृंखल गतिविधि गरेको आरोपमा उहाँहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरी नियन्त्रणमा पर्नेमा लुम्बिनी सांस्कृतिक नगरपालिका–६ का ६१ वर्षीय अकराम खान र वडा नम्बर ९ का ३३ वर्षीय वाजिउद्दिन मुसलमान रहनुभएको छ । उहाँहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

यता, महाअभियानका सहसंयोजक रामविकास चौधरीले भने खानलाई मध्यरातमा घरमा सुतिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको दाबी गर्नुभएको छ । खानलाई नियन्त्रणमा लिइएको घटनाप्रति आपत्ति जनाउँदै महाअभियानले सरकारको कदमको भर्त्सना गरेको छ ।

आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त हुनुभएदेखि नै महाअभियानले विरोधस्वरूप चरणबद्ध आन्दोलन गर्दै आएको छ । संयोजक खानमाथि गरिएको धरपकडको विरोध गर्दै अभियानले उहाँलाई निःसर्त रिहा गर्न माग गरेको छ ।

प्रतिकृया दिनुहोस
↑