कुञ्जपार्कमा म्युजिकल वाटर फाउन्टेनको उद्घाटन, तिलोत्तमाको पर्यटनमा जोड

तिलोत्तमा, कार्तिक १०
रुपन्देहीको तिलोत्तमा नगरपालिका–६, कुञ्जलापुरस्थित कुञ्जपार्कमा सोमबार म्युजिकल वाटर फाउन्टेनको उद्घाटन गरिएको छ। पर्यटन विकासको आधारशिला स्थापना गर्ने उद्देश्यले तिलोत्तमामा म्युजिकल वाटर फाउन्टेनको अवधारणा ल्याइएको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष गणेश पाठकले बताउनुभयो। समग्र तिलोत्तमासँगै कुञ्जलापुरको आर्थिक विकास र पर्यटन प्रवर्द्धनमा समेत ठूलो योगदान पुर्‍याउने तथा समग्र क्षेत्रलाई परिचित गराउने उद्देश्यले फाउन्टेन निर्माण गरिएको उहाँले बताउनुभयो।

शीघ्र सञ्चालनमा आउने नाइटपार्कसँगै पानीको फोहोरामा संगीतको साधना जोड्ने गरी म्युजिकल वाटर फाउन्टेन निर्माण गरिएको वडाध्यक्ष पाठकले बताउनुभयो। यसले पर्यटक आकर्षित गर्नुका साथै स्थानीय क्षेत्रको आर्थिक विकासमा समेत सहयोग पुर्‍याउने उहाँको विश्वास छ।

उद्घाटन समारोहमा बोल्दै नगरप्रमुख रामकृष्ण खाणले कुञ्जपार्कसँगै तिलोत्तमाका अन्य पर्यटकीय क्षेत्र बनबाटिका, बाउन्नकोटी, जमुहानी पार्कजस्ता गौरवपूर्ण पार्कलाई जोड्दै पर्यटकलाई सबै पार्क घुम्न उत्सुक बनाउने उद्देश्यले नगरपालिकाले पर्यटनको आधार वृद्धि गर्न पार्कमा लगानी गरेको बताउनुभयो।त्यसैगरी, उपप्रमुख जागेश्वर देवी चौधरीले ऐतिहासिक स्थल तथा पर्यटन र धार्मिक स्थलको संगमका रूपमा रहेको कुञ्जपार्कलाई अझ राम्रो बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कुञ्जपार्कप्रति पर्यटकको आकर्षण तीव्र रूपमा बढ्दै गएकाले नगरपालिकाले उक्त स्थानलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले बताउनुभयो। कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै पौडेलले पर्यटनमा गरिएको लगानीले समृद्ध तिलोत्तमा निर्माणको अभियानमा एउटा इँटा थप्ने विश्वास व्यक्त गर्नुभयो।कुञ्जपार्कमा विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० अनुसार म्युजिकल वाटर फाउन्टेन निर्माण गर्न करिब एक करोड ५० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको थियो। तर, ठेकेदार कम्पनीले उक्त निर्माण कार्य एक करोड २६ लाख रुपैयाँमा सम्पन्न गरेको हो।

सोमबार नगरप्रमुख रामकृष्ण खाण र उपप्रमुख जागेश्वर देवी चौधरीले एक भव्य समारोहबीच फाउन्टेनको उद्घाटन गर्नुभएको हो। पर्यटक आकर्षणको केन्द्रका रूपमा फाउन्टेन पार्क बन्ने भएपछि स्थानीयवासीसमेत खुसी भएको वडाध्यक्ष पाठकले बताउनुभयो।कार्यक्रममा नगरप्रमुख खाण, उपप्रमुख जागेश्वर देवी चौधरी, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेल, वडा नम्बर ६ का अध्यक्ष गणेश पाठक, कुञ्जपार्कका लोक पुन,तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य सुरेन्द्र श्री लगायतले आफ्नो भनाइ राख्नुभएको थियो।

प्रतिकृया दिनुहोस
↑