मदिराको दुरुपयोगबाट बालबालिका जोगाउन सामूहिक प्रयास आवश्यक
बुटवल, कार्तिक २०
अभिभावकले मदिराको गलत प्रयोग गर्दा त्यसको प्रत्यक्ष तथा अप्रत्यक्ष असर बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र मानसिक विकासमा पर्ने भएकाले उनीहरूलाई मादक पदार्थको जोखिमबाट जोगाउन परिवारदेखि राज्यसम्म सबैको सामूहिक प्रयास आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् ।पछिल्लो समय बालबालिका तथा किशोरकिशोरीहरू विभिन्न प्रकारका दुर्व्यसनमा फस्ने जोखिम बढ्दै गएको भन्दै उनीहरूलाई कुलतबाट जोगाउन परिवार, समुदाय, स्थानीय सरकार र सुरक्षा निकायबीच समन्वय आवश्यक रहेको सरोकारवालाले बताएका हुन् ।
शुक्रबार बुटवलमा सिविन नेपालले आयोजना गरेको ‘मदिराको नियमन र नियन्त्रणमा सरोकारवाला निकायको भूमिका’ विषयक छलफल कार्यक्रममा सहभागीहरूले अभिभावकको मदिरा सेवन र त्यसको गलत प्रयोगले बालबालिकाको जीवनमा पार्ने असरबारे चर्चा गरेका थिए ।कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले स्थानीय तहले आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेको भए पनि मदिराको दुरुपयोग नियन्त्रणका लागि अझै पर्याप्त प्रयास हुन नसकेको बताउनु भयो ।
बालबालिकाको संरक्षण र रेखदेखको पहिलो जिम्मेवारी परिवारकै हुने उल्लेख गर्दै उहाँले अभिभावकहरू यस विषयमा गम्भीर बन्न सके धेरै समस्या परिवारभित्रै समाधान गर्न सकिने बताउनु भयो । प्रमुख अतिथि पाण्डेले विशेष गरि मदिरा नियमन र नियन्त्रण नहुँदा बालबालिकालाई परेको असरलाई मध्यनजर गर्दै बुटवल उपमहानगरपालिकाले नीतिगत व्यवस्था गरी कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उपप्रमुख सावित्रादेवी अर्यालले मदिराको बिक्री वितरण र सेवनलाई व्यवस्थित गर्न संघीय सरकारले स्पष्ट तथा कडा कानुनी व्यवस्था गर्नुपर्ने बताउनु भयो । संघीय सरकारले बनाएका कानुनलाई स्थानीय सरकारले प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके मदिराको दुरुपयोग नियन्त्रणमा सहयोग पुग्ने उहाँको भनाइ थियो ।बुटवल उपमहानगरपालिका वडा नम्बर ५ का अध्यक्ष हरिप्रसाद श्रेष्ठले आर्थिक अभाव र पारिवारिक समस्याका कारण पनि मदिरासँग जोडिएका सामाजिक समस्या बढ्ने गरेको बताउनु भयो । खान र बस्नसमेत समस्या भएका परिवारमा यस्ता समस्या बढी देखिने गरेको उल्लेख गर्दै उहाँले आर्थिक तथा सामाजिक अवस्थाको सुधारमा वडाले विशेष ध्यान दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक कल्पना घर्तीले रुपन्देहीमा मदिरा सेवनबाट आएका घटना र त्यसले महिला तथा परिवारमा पारेको असरबारे प्रस्तुतिकरण गर्दै घरेलु हिंसाका घटनामध्ये १९ दशमलम ७ प्रतिशत घटना मदिरा सेवनसँग जोडिएको जानकारी दिनु भयो । मदिराको सेवनले शारीरिक तथा मानसिक स्वास्थ्यमा असर पार्नुका साथै महिला र बालबालिकालाई प्रत्यक्ष रूपमा प्रभावित बनाउने गरेको घर्तीले उल्लेख गर्नुभयो ।
कार्यक्रममा पत्रकार कल्पना तिवारीले पत्रकारिताका आखाबाट बालबालिकामा मदिराको असर विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो । मदिरा सेवनका कारण परिवारमा उत्पन्न हुने झैझगडा, हिंसा र विखण्डनका घटनाहरू समाचारमा आउने गरे पनि त्यसले बालबालिकाको मनोविज्ञानमा पार्ने असर पर्याप्त रूपमा उजागर हुन नसकेको तिवारीको प्रस्तुतिमा उल्ल्ोख गरिएको थियो ।
यस्तै अभिभावकको मदिरा सेवनका कारण बालबालिकाले भोग्नुपर्ने मानसिक तनाव, असुरक्षा, शिक्षामा अवरोध र स्वास्थ्यमा पर्ने असरलाई पनि समाचारको विषय बनाउनु पर्ने, मदिराको दुरुपयोगलाई केवल वयस्कको व्यक्तिगत व्यवहारका रूपमा नभई बालबालिकाको भविष्यसँग जोडिएको सामाजिक समस्याका रूपमा हेर्नुपन भन्दै उहाँले सरोकारवालालाई सुझाउनु भयो ।
सिविन नेपालका बाल हेल्पलाइन म्यानेजर भगवती श्रेष्ठको स्वागत तथा सिविन नेपालद्वारा सञ्चालित बाल हेल्पलाइन रुपन्देहीका प्रमुख विष्णुमाया पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बुटवल उपमहानगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अभिकृत दिपक ज्ञवाली,शिक्षा शाखा प्रमुख कोपिला ज्ञवाली ,स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डे, माइती नेपाल रुपन्देही प्रमुख माया क्षेत्री,सेतो गुराँस बालविकास सेवा रुपन्देहीका रामविलास गुप्ता, लगायतले बालबालिकामाथि मदिराको दुरुपयोगले पार्ने असर र उनीहरूको संरक्षणका विषयमा धारणा राख्दै नियमन र नियन्त्रणका लागि आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।सिविन नेपालका मनोपरामर्शकर्ता फूलमाया पासवानको संचालनमा सम्पन्न कार्यक्रममा बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधि,कर्मचारी,सामाजिक संस्थाका प्रमुख एवं प्रतिनिति , सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

.jpeg)



प्रतिकृया दिनुहोस