बुटवलमा दीपावली सडक खाना महोत्सव सुरु, बजार चलायमान हुने विश्वास

बुटवल, कात्तिक २०

नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारको अवसरमा बुटवलमा ‘दीपावली सडक खाना महोत्सव’ सुरु भएको छ। बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको आयोजनामा बुटवल उपमहानगरपालिका–८ सुख्खानगरस्थित शुक्रपथमा शुक्रबार साँझदेखि महोत्सव सुरु भएको हो।महोत्सवको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभयो।

उद्घाटन कार्यक्रममा नगरप्रमुख पाण्डेयले बुटवलको गौरवपूर्ण इतिहास र बुटवल उद्योग वाणिज्य संघको लामो व्यावसायिक विरासत स्मरण गर्दै सहरको आर्थिक विकासका लागि स्थानीय सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।उहाँले बुटवलको व्यापार, व्यवसाय तथा आर्थिक गतिविधिलाई चलायमान बनाउन उपमहानगरपालिका निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढिरहेको उल्लेख गर्नुभयो। औद्योगिक तथा व्यावसायिक क्षेत्रको विकास र प्रवर्द्धनका लागि स्थानीय सरकार फरक सोच र प्राथमिकतासहित अघि बढेको बताउँदै उहाँले मोतीपुर औद्योगिक क्षेत्र स्थापना र बुटवल–१५ मा कृषि उपज केन्द्र निर्माणलाई प्राथमिकतामा राखेर काम भइरहेको जानकारी दिनुभयो।

त्यसैगरी, बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले महोत्सवले बजारलाई चलायमान बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। बुटवल समयअनुसार डिजिटल प्रविधिमा अघि बढिरहेको बताउँदै उहाँले समयको मागअनुसार आफूलाई परिमार्जन गर्दै अघि बढ्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुभयो।

बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा आयोजित महोत्सव कात्तिक २२ गतेसम्म सञ्चालन हुनेछ। महोत्सव हरेक दिन अपराह्न ४ बजेदेखि राति १० बजेसम्म सञ्चालन गरिने आयोजकले जनाएको छ। महोत्सवमा खानाका परिकार, तिहारका सामग्री तथा स्थानीय उत्पादनका गरी ५० वटा स्टल राखिएका छन्।महोत्सवमा विभिन्न जातजातिका मौलिक संस्कृति र परम्परासँग जोडिएका रैथाने खानाका परिकार, फूलमाला, खाद्यान्न तथा तिहारमा आवश्यक सामग्री प्रदर्शनी र बिक्रीका लागि राखिएका छन्।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष नरिश्वर शर्मा पौडेलले स्थानीय उत्पादन, खानाका परिकार र व्यवसायको प्रवर्द्धन गर्दै उद्यमी तथा व्यवसायीलाई बजार विस्तारको अवसर प्रदान गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताउनुभयो। उहाँले महोत्सवले दीपावलीको सांस्कृतिक महत्त्व र मौलिक परम्पराको संरक्षणसँगै बुटवलको आर्थिक तथा व्यावसायिक गतिविधि बढाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको पनि बताउनुभयो।

महोत्सवमा खानाका परिकारसँगै सांस्कृतिक प्रस्तुति र मनोरञ्जनका कार्यक्रमसमेत समेटिएका छन्। महोत्सवको पहिलो दिन उद्घाटनसँगै स्थानीय ब्यान्डको प्रस्तुति रहेको थियो। दोस्रो दिन देउसीभैलो प्रतियोगिता र तेस्रो दिन राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ।

कार्यक्रममा संघका पूर्वअध्यक्ष जीवनप्रसाद वझा, बुटवल उपमहानगरपालिका–८ का वडाध्यक्ष यज्ञ पंगेनी, उद्योग व्यापार संघ बुटवलका अध्यक्ष लोकनाथ पन्थी, संघका वरिष्ठ उपाध्यक्ष सुरज भट्टराई, महासचिव बसन्तप्रसाद ढकाललगायतले स्थानीय कला, संस्कृति र खानाका विविध स्वादलाई एउटै स्थलमा प्रस्तुत गर्ने महोत्सवले तिहारको रौनक बढाउनुका साथै बुटवललाई चलायमान र उत्सवमय बनाउने विश्वास व्यक्त गर्नुभयो।

प्रतिकृया दिनुहोस
↑