तिलोत्तमामा हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी पूरा

बुटवल, मंसिर २ 

रुपन्देहीको तिलोत्तमामा बिहीबारदेखि आयोजना हुने चौथो राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी पूरा भएको छ। तिलोत्तमा उद्योग वाणिज्य संघको आयोजनामा मंसिर ३ देखि १६ गतेसम्म तिलोत्तमा नगरपालिका–५, मणिग्राममा ‘नवौँ तिलोत्तमा राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि, प्रविधि एवम् पर्यटन प्रवर्द्धन महोत्सव–२०८३’ सञ्चालन हुन लागेको हो।

‘उद्योग, कृषि, प्रविधि र पर्यटनमा लगानी स् दिगो आर्थिक विकासका लागि चौथो तिलोत्तमा राष्ट्रिय प्रदर्शनी’ भन्ने नारासहित आयोजना हुने मेलाको उद्देश्य औद्योगिक तथा स्थानीय उत्पादनको प्रवर्द्धन, व्यापार विस्तार र आर्थिक गतिविधि बढाउनु रहेको छ।

तिलोत्तमा उद्योग वाणिज्य संघले बुधबार मेला सचिवालयमा पत्रकार सम्मेलन गरी मेलाको तयारी पूरा भएको जानकारी गराएको हो। मेलाको उद्घाटन बिहीबार दिउँसो १ बजे तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले गर्नुहुनेछ। त्यसअघि बिहान १० बजे शोभा कलश यात्रा निकालिने आयोजकले जनाएको छ।

पत्रकार सम्मेलनमा संघका अध्यक्ष तथा मेला मूल आयोजक समितिका संयोजक ज्ञानेन्द्र कार्कीले स्थानीय उत्पादनलाई बजारसँग जोड्दै औद्योगिक तथा व्यावसायिक गतिविधि बढाउने उद्देश्यले मेला आयोजना गरिएको बताउनुभयो। उहाँका अनुसार मेलाको सम्पूर्ण तयारी पूरा भएको छ।

नेपाल उद्योग वाणिज्य महासंघ र लुम्बिनी प्रदेश उद्योग वाणिज्य महासंघको संरक्षकत्व, लुम्बिनी प्रदेशको वन, वातावरण तथा पर्यटन मन्त्रालयको प्रवर्द्धन तथा तिलोत्तमा नगरपालिका, रुपन्देही चेम्बर अफ कमर्स र तिलोत्तमा उद्योग व्यापार संगठनको सहआयोजनामा मेला सञ्चालन हुनेछ। मेलामा करिब ३२५ वटा स्टल रहनेछन्।

मेलामार्फत भारतसँगको व्यावसायिक सम्बन्धलाई प्रभावकारी बनाउँदै व्यापारिक लाभ लिने लक्ष्यसमेत राखिएको छ। भारतसँगको व्यावसायिक सम्बन्धका साथै बुद्ध सर्किट र जानकी सर्किटको विकास तथा विस्तारमा पनि जोड दिइएको छ।१४ दिनसम्म सञ्चालन हुने मेलामा करिब पाँच लाख दर्शक सहभागी हुने र १२ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको अध्यक्ष कार्कीले बताउनुभयो।

संघका वरिष्ठ उपाध्यक्ष तथा मेला मूल आयोजक समितिका सहसंयोजक सुरज पंगेनीले औद्योगिक उत्पादन, कृषि उपज, प्रविधि तथा पर्यटनसँग सम्बन्धित सामग्री र सेवाको प्रदर्शनी तथा बिक्री मेलाको मुख्य आकर्षण रहने बताउनुभयो। उहाँका अनुसार कृषि तथा पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिँदै विभिन्न क्षेत्रका उत्पादन र गतिविधि मेलामा समेटिएका छन्।

मेलामा मनोरञ्जनका लागि पनि विभिन्न आकर्षण राखिएका छन्। संघका महासचिव तथा मेला प्रवक्ता राजकुमार पाण्डेका अनुसार ८० फिट अग्लो वाटरफल, चरखे पिङ, ३६० डिग्री झुला र जिरो ग्राभिटी झुला मेलाका विशेष आकर्षण हुनेछन्।त्यसैगरी पशुपतिनाथ मन्दिर, लुम्बिनी, मुक्तिनाथ र जनकपुरधामको कलात्मक शैलीमा मुख्य प्रवेशद्वार निर्माण गरिनेछ। रामायण शो, तिलोत्तमा आरती, सांस्कृतिक कार्यक्रम र बालउद्यान पनि मेलाका थप आकर्षणका रूपमा रहनेछन्।

तिलोत्तमाको पर्यटन प्रवर्द्धनका लागि नगरभित्रका पर्यटकीय गन्तव्यको पहिचान झल्किने पर्यटन ग्यालरीसमेत राखिनेछ। यसबाट स्थानीय पर्यटकीय स्थलको प्रचारप्रसारमा सहयोग पुग्ने आयोजकको अपेक्षा छ।

मेलालाई व्यापार र मनोरञ्जनमा मात्र सीमित नराखी उद्यमशीलता, श्रम र वातावरणीय सचेतनासँग पनि जोडिएको छ। जलवायु परिवर्तन र यसका प्रभावबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ। विद्यार्थीलाई उद्यमशीलताप्रति प्रेरित गर्ने विभिन्न गतिविधि सञ्चालन गर्नुका साथै हरेक दिन सफल उद्यमीका अनुभव र प्रेरणादायी मन्तव्य प्रस्तुत गरिनेछ। विभिन्न समसामयिक तथा व्यावसायिक विषयमा प्यानल छलफलसमेत आयोजना गरिने आयोजकले जनाएको छ।

मेलामा श्रम डेस्क स्थापना गर्नुका साथै श्रम अडिटको कार्यक्रम पनि राखिएको छ। यसबाट उद्योगी, व्यवसायी र श्रमिकबीचको सम्बन्ध तथा श्रमसम्बन्धी विषयमा जानकारी र सहजीकरण हुने अपेक्षा गरिएको छ।मेला व्यवस्थित रूपमा सञ्चालन गर्न संघले पदाधिकारी तथा कार्यसमिति सदस्यलाई विभिन्न जिम्मेवारी बाँडफाँट गरेको छ। आयोजकले मेलालाई उद्योग, व्यापार, कृषि, पर्यटन र प्रविधिको साझा प्रदर्शनीका रूपमा विकास गर्ने लक्ष्य लिएको छ।

मेलामा अवलोकनका लागि आउने सर्वसाधारणलाई १०० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ। विशेष समयका लागि छुट्टै विशेष टिकटको व्यवस्था गरिएको छ। ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई भने निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ।

प्रतिकृया दिनुहोस
↑