पथप्रदर्शक बचत तथा ऋण सहकारी संस्थाको मुनाफा झण्डै ४० प्रतिशत 

बुटवल,मंसिर ६
बुटवल स्थित पथप्रदर्शक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक वर्षको अवधिमा खुद मुनाफा ३९.८ प्रतिशतले वृद्धि गरेको छ। आर्थिक वर्ष २०८२-८३ मा संस्थाले ३३ लाख ४५ हजार ८१६ रुपैयाँ खुद मुनाफा गरेको हो। अघिल्लो आर्थिक वर्ष २०८१-८२ मा संस्थाको खुद मुनाफा २४ लाख ५ हजार ६८४ रुपैयाँ थियो।

संस्थाको १८औँ वार्षिक साधारणसभामा कोषाध्यक्ष लक्ष्मण ज्ञवालीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनअनुसार सहकारीको सेयर पुँजी पनि बढेर दुई करोड सात लाख ८५ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा सेयर पुँजीमा एक लाख ७९ हजार रुपैयाँ वृद्धि भएको हो।एक हजार १०९ जना सेयर सदस्य रहेको संस्थाले आर्थिक गतिविधिसँगै तरलता व्यवस्थापनलाई पनि प्राथमिकतामा राखेको जनाएको छ। आर्थिक वर्ष २०८१-८२ मा संस्थासँग नगद मौज्दात ८१ हजार ६७५ रुपैयाँ र बैंक मौज्दात चार करोड ९० लाख ६० हजार ७९० रुपैयाँ रहेको थियो। 

आर्थिक वर्ष २०८२-८३ मा नगद मौज्दात ४३ हजार ९४४ रुपैयाँ र बैंक मौज्दात पाँच करोड ८७ लाख एक हजार ६०३ रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ। संस्थाले आर्थिक वर्ष २०८१-८२ मा २८ लाख ३० हजार २१७ रुपैयाँ कुल मुनाफा गरेकोमा १५ प्रतिशत आयकर कट्टीपछि २४ लाख पाँच हजार ६८४ रुपैयाँ खुद मुनाफा कायम गरेको थियो। आर्थिक वर्ष २०८२-८३ मा कुल मुनाफा ३९ लाख २६ हजार २५५ रुपैयाँ पुगेको र आयकर कट्टीपछि ३३ लाख ४५ हजार ८१६ रुपैयाँ खुद मुनाफा भएको कोषाध्यक्ष ज्ञवालीले जानकारी दिनुभयो।

बुटवलको देवीनगरस्थित भूतपूर्व सैनिक हलमा सम्पन्न साधारणसभामा सहभागी वक्ताहरूले सहकारीको वित्तीय अनुशासन, पारदर्शिता र सदस्यकेन्द्रित गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् ।कार्यक्रमका प्रमुख अतिथि ज्येष्ठ सेयर सदस्य गंगाधर कँडेलले संस्थाको दिगो विकासका लागि स्पष्ट लक्ष्य, दूरदर्शी योजना र पारदर्शी आर्थिक नीति आवश्यक रहेको बताउनुभयो । अन्य सहकारीभन्दा फरक र उदाहरणीय काम गर्दै अघि बढ्न उहाँले सुझाव दिनुभयो ।

विशिष्ट अतिथि बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक ज्ञवालीले भूकम्प, कोभिडलगायतका प्रतिकूल परिस्थितिमा पनि संस्थाले आफ्नो अस्तित्व र वित्तीय अनुशासन कायम राख्न सफल भएको बताउनुभयो । सहकारीले समुदायको सारथीका रूपमा काम गर्नुपर्ने उल्लेख गर्दै उनले नीति, नियम र आर्थिक कारोबार पारदर्शी राखेर सदस्यको विश्वास जित्नुपर्ने बताउनुभयो ।

बुटवल उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख गुणानिधि खनालले सहकारीको नियमन, सदस्यको चाहना र प्रचलित कानुनअनुसार गतिविधि सञ्चालन गर्नुपर्ने बताउनुभयो ।  सहकारीले आफ्नो नाफाको २५ प्रतिशत रकम जगेडा कोषमा छुट्याएर बाँकी रकमको व्यवस्थापन गरेको उल्लेख गर्दै उहाँले स्थानीय तहको निगरानी र सदस्यको सहभागितामा सञ्चालन हुने सहकारीलाई थप सबल बनाउनुपर्ने बताउनुभयो ।

संस्थाका संस्थापक अध्यक्ष तथा निवर्तमान अध्यक्ष चन्द्रमणि अधिकारीले २६ जना सदस्यबाट दुई लाख ६० हजार रुपैयाँ पुँजी संकलन गरी सुरु भएको संस्था १८औँ साधारणसभासम्म आइपुग्दा उल्लेखनीय रूपमा विस्तार भएको बताउनुभयो ।संस्थाको सुरुवातदेखि हालसम्मको यात्रामा साथ दिने सदस्य तथा शुभेच्छुकप्रति उनले आभार व्यक्त गर्नुभयो ।साधारणसभामा संस्थाका सेयर सदस्य अनिलकुमार श्रेष्ठ, सम्बन्ध बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष विष्णुकुमारी गौतम, ग्रामीण विकास बैंकका प्रमुख अर्जुनप्रसाद आचार्यलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

साधारणसभाका अवसरमा एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगदसहित सम्मान गरिएको थियो। त्यस्तै, नियमित तथा असल कारोबार गर्ने सदस्यलाई पनि सम्मान गरिएको संस्थाले जनाएको छ।कार्यक्रममा अध्यक्षको प्रतिवेदन सचिव विष्णुमाया थापा, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन कृष्णमाया थापा र आर्थिक प्रतिवेदन कोषाध्यक्ष लक्ष्मण ज्ञवालीले प्रस्तुत गर्नुभएको थियो ।  संस्थाका कार्यसमिति सदस्य राधा पौडेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन विष्णुप्रसाद ज्ञवालीले गर्नुभएको थियो  । 
 

प्रतिकृया दिनुहोस
↑