सिविन नेपालद्धारा सकारात्मक अभिभावकत्व सम्बन्धी तालिम

बुटवल, मंसिर ६ 
सिविन नेपालको आयोजनामा सकारात्मक अभिभावकत्वसम्बन्धी एकदिने तालिम कार्यक्रम सम्पन्न भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका ड्राइभरटोलस्थित होटल टुलिपमा आइतबार आयोजित तालिममा सकारात्मक अभिभावकत्वको अवधारणा, बालबालिकाको भावनात्मक तथा सामाजिक विकासमा अभिभावकको भूमिका, प्रभावकारी सञ्चार र सकारात्मक अनुशासनका सीपबारे अभिभावकहरुलाई प्रशिक्षण प्रदान गरिएको हो । 

सिविन नेपालका कार्यक्रम निर्देशक ध्रुव गौतमले सहभागीलाई स्वागत गर्दै सिविन नेपालद्वारा सञ्चालित ‘मेन्टल हेल्थ म्याटर्स’ परियोजनामार्फत बालबालिकाको मानसिक स्वास्थ्य प्रवद्र्धन गर्ने उद्देश्यले रुपन्देहीमा कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

तालिम कार्यक्रममा सिविन नेपालका मनोचिकित्सक नर्स यशोदा बगालेले अभिभावकले बालबालिकासँग गर्ने व्यवहार, परिवारमा सकारात्मक सम्बन्ध कायम गर्ने उपाय तथा सहयोगी वातावरण निर्माणका विषयमा प्रस्तुतिकरण गर्दै कार्यक्रमको सहजीकरण गर्नु भएको थियो । उहाँले सिकाइलाई व्यवहारमा उतार्न सहज बनाउन सहभागीलाई समूहगत अभ्यासमा समेत जोड दिनु भएको थियो । 

तालिममा बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाका ३० जना अभिभावकको सहभागिता रहेको थियो । सहभागी अभिभावकहरूले आफूले अपनाउँदै आएका सकारात्मक व्यवहारलाई निरन्तरता दिँदै समुदायमा समेत सकारात्मक अभिभावकत्वबारे सचेतना फैलाउने प्रतिबद्धता जनाएका थिए ।
सिविन नेपालका मनोसामाजिक परामर्शकर्ता फूलमाया पासवानको सञ्चालनमा सम्पन्न कार्यक्रममा फोरुट नर्वेका एलिन र सिस्टिनलगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस
↑