सफल उद्यमीका अनुभवले विद्यार्थीमा जगायो उद्यमशीलताको प्रेरणा
तिलोत्तमा, मंसिर ८
तिलोत्तमामा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा विद्यार्थीलाई उद्यमशीलतातर्फ प्रेरित गर्ने उद्देश्यले सफल उद्यमीका अनुभव र संघर्षका कथा सुनाइएको छ ।मंगलबार मेला अवलोकनका लागि आएका विभिन्न विद्यालयका एक हजारभन्दा बढी विद्यार्थीलाई उद्यमशीलताको महत्त्व, व्यवसाय सञ्चालनका चुनौती र सफलताका आधारबारे जानकारी गराइएको हो ।
कार्यक्रममा मेला आयोजक तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्की, गण्डकी चिउरा उद्योगका सञ्चालक एवं संघका वरिष्ठ उपाध्यक्ष सुरज पंगेनी, सत्यवती वि कन्सर्नका सञ्चालक एवं संघका महासचिव राजकुमार पाण्डे र माउन्ट एभरेष्ट कत्था उद्योगका सञ्चालक एवं संघका सहकोषाध्यक्ष वसन्त रोकाले आफ्ना व्यावसायिक अनुभव र सफलताका कथा सुनाउनुभएको थियो ।
उहाँहरूले व्यवसाय सुरु गर्दाका चुनौती, निरन्तर मेहनत, जोखिम बहन गर्ने क्षमता, धैर्य र अवसरको पहिचानले उद्यमशीलतामा सफलता हासिल गर्न सकिने अनुभव सुनाउनुभयो। साथै विद्यार्थीलाई भविष्यमा रोजगारी खोज्ने मात्र नभई अरूलाई रोजगारी दिने उद्यमी बन्न प्रेरित गर्नुभयो ।
विद्यार्थीको सहभागिता र सहज सिकाइलाई ध्यानमा राखेर कार्यक्रमलाई विभिन्न समूहमा विभाजन गरिएको थियो । सफल उद्यमीका प्रत्यक्ष अनुभव सुन्न पाउँदा विद्यार्थीले उद्योग, व्यापार र स्वरोजगारका सम्भावनाबारे बुझ्ने अवसर पाएको आयोजकले जनाएको छ ।‘उद्योग, कृषि, प्रविधि र पर्यटनमा लगानी : दिगो आर्थिक विकासका लागि चौथो तिलोत्तमा राष्ट्रिय प्रदर्शनी’ नारासहित आयोजित मेलामा उद्यमशीलता प्रवर्द्धनलाई समेत विशेष महत्त्व दिइएको छ । करिब ३२५ स्टल रहेको १४ दिने मेलामा पाँच लाख दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।
मेलामा औद्योगिक उत्पादन, कृषि उपज, प्रविधि तथा पर्यटनसँग सम्बन्धित सामग्री र सेवाको प्रदर्शनी तथा बिक्री भइरहेको छ । कृषि तथा पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिँदै विभिन्न क्षेत्रका उत्पादन र गतिविधि समेटिएको संघका महासचिव तथा मेलाका प्रवक्ता राजकुमार पाण्डेले बताउनुभयो ।मेलालाई व्यापारिक प्रदर्शनीमा मात्र सीमित नराखी मनोरञ्जन, संस्कृति र पर्यटनसँग समेत जोडिएको छ । पशुपतिनाथ मन्दिर, लुम्बिनी, मुक्तिनाथ र जनकपुरधामका कलात्मक संरचना, रामायण शो, तिलोत्तमा आरती, सांस्कृतिक कार्यक्रम तथा बालउद्यान मेलाका मुख्य आकर्षण रहेका छन् ।
त्यस्तै, तिलोत्तमाका पर्यटकीय गन्तव्यको पहिचान र प्रचारप्रसार तथा नेपाल आरोग्य वर्ष २०२७ को प्रचारका लागि पर्यटन ग्यालरीसमेत राखिएको छ ।मेलाअन्तर्गत उद्यमशीलता प्रवर्द्धनसँगै जलवायु परिवर्तनका असरबारे सचेतना र व्यावसायिक विषयमा प्यानल छलफलसमेत गरिने आयोजकले जनाएको छ ।मेलामा मंगलबार दोहोरी गीत प्रतियोगिता, तिलोत्तमा डान्स आइडल र तिलोत्तमा सिङ्गिङ आइडलका प्रतिस्पर्धा भएका थिए । त्यसैगरी बहुचर्चित गायक प्रकाश दुतराज, कृष्ण रिउले, दीपक गरौजा, विधान कार्की र वर्षा थापालगायतका कलाकारले सांगीतिक प्रस्तुति दिएका थिए ।





प्रतिकृया दिनुहोस