सुस्ता बचाउ अभियानका अभियान्ता गोपाल गुरुङ बचाउ अभियान शुरु

बुटवल, माघ ३
 सुस्ता बचाउ अभियानका अभियान्ता गोपाल गुरुङको उपचारका लागि गोपाल गुरुङ बचाउन अभियन शुरु गरिएको छ । पश्चिम नवलपरासीको सुस्ताको नेपाली भूमि भारतीय पक्षले अतिक्रमण गरेपछि गोपाल गुरुङले सुस्ता बचाउन अभियान सञ्चालन गर्नुभएको थियो  ।

नेपाली भूमि बचाउन भारतीय ज्यादतीविरुद्ध लड्दै आउनुभएका गोपाल गुरुङ अहिले विरामी हुनुहुन्छ  ।

अकस्मात मष्तिष्क घात भएपछि गोपाल गुरुङको गत पुस ८ गतेदेखि भैरहवाको मेडिकल कलेजमा उपचार भैरहेको छ ।६२ वर्षिय गुरुङको अहिले भेन्टिलेटरमा राखेर उपचार भैरहेको गोपाल गुरुङकी छोरी प्रसन्द गुरुङले जानकारी गराउनुभयो  । उपचारका लागि आर्थिक समस्या भएको घरपरिवारले बताएपछि बुटवलबाट गोपाल गुरुङ बचाउन अभियान सञ्चालन गरिएको छ ।

गोपाल गुरुङको उपचारमा आर्थिक समस्या भएपछि लिट्स कलेजका प्रमुख बसन्तराज खनाल, लेखक तथा साहित्यकार दलबहादुर गुरुङ र पत्रकार श्यामलाल पोखरेलको अगुवाईमा गोपाल गुरुङ बचाउन अभियान शुरु गरिएको हो ।

गोपाल गुरुङको उपचारका लागि लिट्स कलेज बुटवलले रु १५ हजार, सिद्वाबाबा मन्दिर विकास समिति पाल्पाले रु १५ हजार, बुटवलका लोकनाथ भुसालले रु ५ हजार, बेनप्रसाद थापाले रु ५ सय २५, गोपाल श्रेष्ठले रु ५ सय र कोपिला बुढाले रु ५ सय सहगोग गरेका छन् ।

गोपाल गुरुङको उपचारका लागि  प्राइम बैंकमा १७२०००२१ पीइ नम्बर रहेको खाता सञ्चालन गरिएको छ ।आर्थिक सहयोग गर्न इच्छुक सहयोगदातालाई बैंकको खातामा मात्र पैसा जम्मा गर्दिन गोपाल गुरुङ बचाउ अभियानका संयोजक बसन्तराज खनालले आग्रह गर्नुभयो ।

आर्थिक अवस्था कमजोर भएका गुरुङका परिवारले अहिलेसम्म सरसापट गरेर उपचारमा करिब ६ लाख बढी खर्चेका छन् ।आईसीयूमा उपचारबाट निको नभएपछि गुरुङको भेन्टिलेटरमा राखेर उपचार भैरहेको छ ।

आर्थिक अभावका कारण उपचारमा समस्या भएको भन्दै सहयोगका लागि गोपाल गुरुङकी छोरी प्रसन्त गुरुङले सबैलाई आग्रह गर्नुभएको छ  । देशको भूमि जोगाउन जीवन मरणको लडाई लड्दा पनि राज्य पक्षले केही सहयोग नगरेको भन्दै गुरुङकी छोरी प्रसन्द गुरुङले गुनासो गर्नुभयो  ।

देशको भूमि बचाउन लड्दै आएका गोपाल गुरुङ अहिले आफैलाई बचाउन आग्रह गर्दापनि राज्यले उपचारमा सहयोग नगरेकाले आर्थिक जुटाउन अभियान चलाईएको गोपाल गुरुङ बचाउ अभियानका सदस्य दलबहादुर गुरुङले बताउनुभयो ।

नेपाल प्रहरीको हवल्दार सेवाबाट अवकाश प्राप्त गुरुङ २०५५ सालदेखि सुस्तामा बसेर भारतीय अतिक्रमणविरुद्ध अभियान नै चलाउनुभएको थियो ।

२०६२ सालदेखि भारतीयले सुस्ता अतिक्रमणलाई तीव्रता दिएपछि सोही २०६२ साल जेठ १७ गते गुरुङले सुस्ता बचाउ अभियान नामक समिति गठन गरेर अतिक्रमणविरुद्व अभियानमा लाग्नुभएको थियो  ।

भारतीय अतिक्रमणबारे नेपाल सरकारलाई पटक–पटक लिखित रुपमा जानकारी गराउनुभएका गुरुङलाई भारतीय सुरक्षाकर्मीले झुठा मुद्दा लगाएर बगाहा जेलमा एक वर्ष थुनेको थियो ।

अतिक्रमणविरुद्व भारतीय पक्षको बिरोध गर्दा गोपाल गुरुङले धेरैपटक ज्यान मार्ने धम्की समेत खेप्नुभएको थियो  ।

 

प्रतिकृया दिनुहोस