अप्ठ्यारोमा  आमा ! 

बुटवल,साउन ३०       
आमा ३० वर्षकी थिइन् मलाई जन्माउँदा । बाबा भने ३६ का । मेरी आमाले नौ जना बच्चा जन्माइन । ठूल्दिदीबाहेक सबै बाँचेका थिए । अहिले ठूल्दाइ पनि छैनन् । आमाले संसार त्याग्ने बेला म काठमाडौं थिएँ । आमालाई अन्तिमपटक भेट्न नपाउँदाको पीडा कम्तिको थिएन । अर्बुदरोगका कारण आमाले ज्यान गुमाएकी थिइन् । 

आमालाई नसम्झिने को पो होलान् र ? तैपनि हाम्री आमामा विशिष्ट गुण थियो,लाग्छ । आमाले औपचारिक कक्षा लिएकी थिइनन् तर अंग्रेजीका वर्णहरु खरररर पार्थिन् । गणितका दुना त पानी पारेकी थिइन् । नेपाली अक्षरहरु लेख्न सक्थिन् । हिसावमा त मैले कहिल्यै आमालाई जित्न सकिनँ । 

 

मामालाई ऊ जमानामा समेत १० कक्षासम्म पढाएकी रहेछिन्,आमाले । बाबाआमाको मृत्युपछि मेरी आमाले आफ्ना भाइबहिनीहरुलाई पढाउँदा आफू पढ्न नपाएको सुनाइरहन्थिन् । मेरा बाबाआमाले औपचारिक कक्षा नपढेपनि हामी सबै सन्तानहरुलाई दुःख,सुख गरि पढाए । उनीहरुको सबैभन्दा ठूलो धर्म त्यही थियो । हाम्रालागि सबैभन्दा ठूलो तीर्थ बाबाआमा नै थिए । 

आमाले हामी सबैलाई तिमी भन्थिन् । हामीले पनि आमालाई तिमी नै भन्थ्यौं । सायद हाम्रो जातीय लवज हुनुपर्छ त्यो । सानामा हामीलाई मिठामीठा कथामात्र होइन, फन्केरोटी( सेलरोटी),मिठो खीर समेत खुवाइ रहन्थिन् । माया असाध्यै गर्थिन् र गाली पनि उस्तै । नपढेमा गालामा औलाका डाम पर्थे हाम्रा । खोइ ! किन आमाले त्यतिविघ्न पढाउन खोज्थिन् ? त्यो कुरो त माथिको सानो प्रसंगले अर्थाउँछ होला पनि । 

 

साँझपख प्राय हामीलाई सुख्खा रोटी खुवाउँथिन् । मिठो मानेर खुब खाइन्थ्यो । आमाका हातै मिठा थिए । बाबाले माछा मारेर ल्याउँदा त्यसको झोलसँग सुख्खा रोटी डोबेर खाँदा यति मिठो हुन्थ्यो कि ,बयान गरी साध्य छैन । न अहिले माछा मार्ने बाबा छन् । न माछाको झोलसितको रोटी खुवाउने आमा नै । हुन त सबैका आमाबाबा सधैं कहाँ बाँच्छन् र ? हामी पनि त संसारमा क्षणिक समयका लागि त रहने होला । 

म २०५० सालमा स्थायी शिक्षक भएँ । आमाले भनिन्–मास्टर जागिरको यति थोरै तलवले कसरी पालिन्छस् ? भोलि विहे गर्लास्,सन्तान होलान् ,कसरी धानिएलास् साइँला ? मलाई यी कुराहरुले अहिले पनि आमाको अनुहार झलझली सम्झाउँछ । महिनाको प्रत्येक अन्तिम शनिवार बुटवलमा साहित्य संगम,बुटवलको कार्यक्रम हुन्थ्यो अनि मैले पनि कविता सुनाउन जान्थें । हाटबजारमा सामान बेच्न छाडेर कविता सुनाउन जाँदा आमाले गाली गर्दै भन्थिन्–दाइ,भाइहरु हुने खाने भए । तिम्रो बिग्रिने मेसो है ? 
त्यतिबेला मैले कविता लेखेको थिएँ ।
साहिँला ! 
तिम्रा दाइभाइहरु 
सगरमाथा चढे
तिमी कति दिन नाम्चेबजार बस्छौ र ? 

 

आमाले व्यापार गर्थिन् बटौलीमा । उनलाई मेरो तलव त हात्तीको मुखमा जिरा हुन्थ्यो होला । तरपनि मलाई भने मेरै तलवमा बाँच्नुको गौरव सगरमाथा बनेर उभिन्थ्यो । ठूल्दाइ पनि पहिला मास्टर थिए । माल्दाइ विटीआईबाट ओभरसियर थिए । काहिंलो भाइले आइए पास गरेकै थियो । कान्छो परदेशी सधैंको । तीनै बहिनीहरुले प्रवेशिका परीक्षा उत्तीर्ण गर्न सकेनन् । भान्जा भान्जीहरुले बहिनीहरुका पढाई समेत पूरा गर्दिएका छन् । 
आमाले व्यापारका कुरा गर्थिन् । घरधन्दा चलाउने सीप सिकाउँथिन् । पछि उनी दाउन्नेमा गएर पूर्णकालीन बौद्धमार्गी भइन् । दसैमा टीका लगाउन छाड्नि । दसैभर दाउन्नेमा निउली बस्न (थुकसमेत ननिलिकन बस्ने,एक किसिमको कठोर तपस्या) गरिन् । आमाको खुसीलाई हामीले राम्रै ठान्यौं । बाबाको मृत्युपछि आमामा त्यो भक्तिभाव देख्यौं । 
आमाको मृत्युपछि अन्त्येष्टि दाउन्नेमा नै गरेका थियौं । हुन त बाबा,ठूल्दाइको समेत लासको सतिगति दाउन्नेमा नै गरेका थियौं । दाउन्नेमा बेलाबखत जाने गरेका छौं । त्यहाँका गुम्बामा पढ्ने बालबालिका र गुरुहरुलाई भेट्न जान्छौं अहिले पनि । चन्द्रमाया आमाका सन्तानहरु आए भनेर गुरुहरुले स्मृति दिलाउँछन् आमाको । त्यतिबेला आँखा भरिएर आउँछन् । रसाउँछन् । 

            

                                               लेखक - दलबहादुर गुरुङ

आमा र बाबाको नाममा मैले लालचन्द्र संरक्षण पुरस्कारको स्थापना गरेको छु । चन्द्र श्री आमा र बाबाको नाम लालबहादुर हो । तिनाउमा रहेका ब्यक्ति वा संस्था जसले वन,वातावारण र जैविक विविधता संरक्षणमा योगदान दिएका छन् उनीहरुमध्ये उत्कृष्ट एकजना वा एउटा संस्थालाई सन् २०१९ बाट पुरस्कृत गर्दै आएको छु । 
अप्ठ्यारोमा आमालाई खुबै सम्झिन्छु । लुम्बिनी जाँदा आमाको सम्झनामा बत्ती बाल्छौं । दाउन्नेमा पनि । फोटो हेर्छु सधैं । आमाको फोटोले विगत सम्झाइ रहन्छ र भविष्यप्रति उन्मुख हुन सिकाउँछ । यतिबेला मेरा बाबा आमा भनेकै पुस्तक हुन् ।

पुस्तक पढिरहँदा बाबाआमाका तस्वीर घुमिरहन्छ, एकोहोरो .... एकोहोरो .....................................


 

प्रतिकृया दिनुहोस