रोटरी क्लब तिनाउ बुटवलद्वारा सडक डिभाइडरमा वृक्षरोपण
बुटवल, साउन १३
रोटरी क्लब अफ तिनाउ बुटवलले बर्ष २०२६/२७ को वार्षिक कार्ययोजना अन्तर्गत पहिलो कार्यक्रम वृक्षरोपण कार्यक्रमबाट सुरुवात गरेको छ । बुधबार बुटवल उपमहानगरपालिका वडा नम्बर ६ र ८ को सिमानामा रहेको नयाँ बसपार्क अगाडिको सडक डिभाइडरमा धुपीका बिरुवा रोपिएको हो। कार्यक्रम संयोजक कृष्णमाया कार्कीका अनुसार क्लबले विगत तीन वर्षदेखि सोही स्थानमा नियमित रूपमा वृक्षरोपण गर्दै आएको छ भने यस वर्ष पनि खाली रहेका स्थानमा बिरुवा रोपेर र गत बर्षहरुमा लगाईएका बिरुवा गोडमेल गरेर अभियानलाई निरन्तरता दिएको हो।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रादेवी अर्यालले सडक डिभाइडरलाई हरियाली बनाउने क्लबको पहलको प्रशंसा गर्नुभयो । उहाले वृक्षरोपणमा मात्र सीमित नभई बिरुवाको संरक्षण, गोडमेल तथा सरसफाइमा समेत ध्यान दिन आग्रह गर्नुभयो । उपप्रमुख अर्यालले महिलामात्र सदस्य रहेको रोटरी क्लब अफ तिनाउ बुटवलले सामाजिक सेवाका क्षेत्रमा गर्दै आएका कार्य प्रशंसनीय रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
क्लबका असिस्टेन्ट गभर्नर इ.दुजेन्द्र बस्नेतले वातावरण संरक्षण र हरियाली प्रवद्र्धनका लागि वृक्षरोपण अपरिहार्य रहेको बताउँदै रोपिएका बिरुवाको संरक्षणमा पनि विशेष ध्यान दिनुपर्ने धारणा राखनुभयो । क्लबका अध्यक्ष माया देवी भट्टराईले स्थापना कालदेखि नै वातावरण संरक्षणलाई प्राथमिकतामा राख्दै वृक्षरोपण अभियान सञ्चालन गर्दै आएको र यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको जानकारी दिनुभयो ।
क्लबका सचिव रमा क्षेत्रीको सञ्चालनमा सम्पन्न कार्यक्रममा क्लबका एड्भाइजर एजाज आलम, क्लबका चार्टर प्रेसीडेन्ट देवी वाग्ले , रोटरी क्लब अफ सेन्ट्रल बुटवलका अध्यक्ष बाबुराम बोहोरा, पूर्व अध्यक्षहरू, पदाधिकारी तथा सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो।






प्रतिकृया दिनुहोस