नेपाल सुनचाँदी व्यवसायी महासंघको वार्षिक साधारणसभा बुटवलमा

बुटवल,साउन १५
नेपाल सुनचाँदी महासंघको १३औं र १४औं वार्षिक साधारण सभा बुटवलमा हुने भएको छ । “व्यवसायिक एकता,व्यवसायमा पारदर्शिताःमहासंघको प्रतिबद्धता भन्ने नारा संगै भोलि श्रावण १६ गते शनिबार वार्षिक साधारणसभाको आयोजना गरिएको महासंघले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।  पत्रकार सम्मेलनमा साधारणसभाको सम्पूर्ण तयारी पुरा भएको र कार्यक्रमको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष सुरजकृष्ण वैद्यले गर्नुहुने महासंघका अध्यक्ष अर्जुन रसाइलीले जानकारी गराउनु भएको हो । उहाँले हाल सुनको कारोबार हुन नसकेकोले बजारमा सुनको माग घटेको र वाणिज्य बैंकमा सुन मौज्जदात बढ्दै गएको बताउँनु भयो ।  

सुनको बिक्रीमा आएको मन्दीका कारण व्यवसायीले सुनको व्यवस्थापनमा समस्या भोग्नु परेको छ,यस विषयमा नेपाल राष्ट्र बैंकसँग निरन्तर छलफल भईरहेको अध्यक्ष रसाइलीले जानकारी दिनुभयो । यस्तै रसाइलीले अन्तराष्ट्रिय अभ्यासअनुसार नेपालमा पनि गोल्ड बैंकको अवधारण लागु गर्न आवश्यक भएकाले यसबारे साधारण सभामा समेत छलफल गरी उत्पादनमूलक कम्पनी स्थापना गर्ने र सुनको व्यवस्थापनलाई थप व्यवस्थित बनाउने तयारी भइरहेको अध्यक्ष रसाइलीले बताउनु भयो ।

राज्यले सीप प्रवद्र्धन शुल्कमा ०.५ प्रतिशत कर कायम गरेको निर्णयलाई महासंले सकारात्मक रुपमा लिएको बताउदै  भारतमा  सुन आयतमा १५ प्रतिशत भन्सार शुल्क लाग्ने हुँदा नेपालमा २० प्रतिशत भन्सार शुल्क कायम रहेकोले उक्त शुल्कमा पुनारावलोकन गर्न सरकारसंग आग्रह गरिएको महासंले जनाएको छ । शनिबार हुने वार्षिक साधारणसभामा संस्थाको प्रगतिप्रतिवेदन,आर्थिक प्रतिवेदन ,लेखा परिक्षक नियुक्ति लगायत सुनचाँदी व्यवसायीहरुका समस्यामा घनिघुत छलफल गरिनेछ । सुनचाँदी व्यवसायलाई मर्यादित,प्रतिस्पर्धी,गुणस्तरयुक्त ,पारदर्शी र दिगो बनाउन बुटवल घोषणा पत्र सार्वजनिक गर्दै साधारणसभा सम्पन्न गर्ने समेत आयोजकले जनाएको छ ।

 महासंघका अनुसार वार्षिक साधारणसभामा देशभरका जिल्ल्ला र नगरसंघ ८४, बस्तुगत संघ १ र  २३ वटा एशोसिएटका सदस्यहरु,अतिथिहरु र पर्यवेक्षक एवं सदस्यहरु समेत ७ सय जनाको सहभागिता रहनेछ । पत्रकार सम्मेलन कार्यक्रममा महासंघका प्रवक्ता जीवनज्योति सदाशंकर,पूर्व अध्यक्ष मोहन सुनार,वरिष्ठ उपाध्यक्ष तथा साधारण सभा मूल आयोजक समितिका  संयोजक दिनेशरत्न शाक्य लगातले बोल्दै सुनचाादी व्यवसायलाई सुरक्षित र व्यवस्थित बनाउन सरकारले नीतिगत सुधार गर्नुपर्नेमा जोड दिएका थिए ।  

प्रतिकृया दिनुहोस