स्तनपानलाई जीवनको दिगो सुरुवातको आधार बनाउनुपर्ने

बुटवल,साउन १७
विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा इनरव्हिल क्लब अफ मिडटाउन बुटवलले स्तनपानसम्बन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । कालिकानगरस्थित नर्मदेश्वर मन्दिर परिसरमा सम्पन्न कार्यक्रममा स्तनपानको महत्व, आमा तथा शिशुको स्वास्थ्य, पोषण र समुदायको भूमिकाबारे जानकारी दिइएको थियो । हरेक वर्ष अगस्ट १ देखि ७ सम्म मनाइने विश्व स्तनपान सप्ताहको यस वर्षको मूल नारा “जीवनको दिगो सुरुवातका लागि स्तनपान : प्रभावकारी अभ्यासलाई अझ सुदृढ बनाऔँ” रहेको छ । सोही नारालाई आत्मसात गर्दै कार्यक्रम आयोजना गरिएको क्लबले जनाएको छ ।

कार्यक्रमकी अध्यक्ष एवं इनरव्हिल क्लब अफ मिडटाउन बुटवलकी अध्यक्ष सुशीला पोखरेलले स्तनपान शिशुको अधिकार मात्र नभई स्वस्थ समाज निर्माणको आधार भएको बताउनुभयो । उहाँले विश्व स्तनपान सप्ताहले आमा र शिशुको स्वास्थ्य प्रवद्र्धनसँगै परिवार, समुदाय तथा कार्यस्थलमा स्तनपानमैत्री वातावरण निर्माण गर्न सबैलाई प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

स्तनपानलाई प्रभावकारी बनाउन परिवार, स्वास्थ्यकर्मी, स्थानीय समुदाय र सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो । कार्यक्रमका प्रमुख अतिथि इनरव्हिल क्लब अफ बुटवलकी पूर्वअध्यक्ष तथा संस्थाकी सल्लाहकार भारती जोशीले नवजात शिशुको जीवनको पहिलो घण्टादेखि नै स्तनपान सुरु गर्नुपर्नेमा जोड दिनुभयो ।  उहाँले शिशुको शारीरिक, मानसिक तथा बौद्धिक विकासका लागि आमाको दूधभन्दा उत्तम आहार अर्को हुन नसक्ने उल्लेख गर्दै स्तनपानलाई सामाजिक अभियानका रूपमा अघि बढाउनुपर्ने आवश्यकता औल्याउनुभयो ।

कार्यक्रमकी मुख्य प्रशिक्षक वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. मनिषा महर्जनले जन्मेदेखिका पहिलो छ महिनासम्म शिशुलाई आमाको दूधबाहेक अन्य कुनै पनि खानेकुरा वा पानी आवश्यक नपर्ने वैज्ञानिक तथ्य प्रस्तुत गर्नुभयो। उहाँले नियमित स्तनपानले शिशुलाई संक्रमणबाट जोगाउनुका साथै आमाको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने बताउनुभयो  । स्तनपानसम्बन्धी भ्रम र गलत धारणालाई वैज्ञानिक जानकारीका माध्यमबाट हटाउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

विशिष्ट अतिथि तथा नेशनल मल्टी स्पेसालिटी क्लिनिकका सञ्चालक लक्ष्मण घिमिरेले स्तनपान प्रवद्र्धनका लागि स्वास्थ्य संस्था र समुदायबीच समन्वय आवश्यक रहेको बताउनुभयो । उहाले सही परामर्श र समयमै स्वास्थ्य सेवा उपलब्ध गराउन सके आमा र शिशुको स्वास्थ्यमा उल्लेखनीय सुधार ल्याउन सकिने धारणा राखे यस सामाजिक संस्था सग सहकार्य गरि अगाडि  बददा आफुलाई उत्साह भएको बताएउदै भोलिका दिनहरूमा समन्वय र सहकायलाई निरंतरता  दिन प्रतिबद्धता ब्यक्त गर्नुभयो। 

कार्यक्रममा डा. सुदीप सापकोटाले पनि स्तनपानले शिशुको रोग प्रतिरोधात्मक क्षमता बढाउने र दीर्घकालीन स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने विषयमा जानकारी गराएका थिए ।
त्यसैगरी, मातृशक्ति आमा समूहका अध्यक्ष बिस्नु कुमारी अर्यालले  समुदायस्तरमा स्तनपानसम्बन्धी जनचेतना अझ व्यापक बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताउँदै आयोजक संस्थाको पहलको प्रशंसा गर्नुभयो ।

कार्यक्रम संयोजक राधा भट्टराईका अनुसार कार्यक्रममा करिब ७० जना महिलाको सहभागिता रहेको थियो । सहभागीलाई स्तनपानका सही अभ्यास, शिशु पोषण तथा आमाको स्वास्थ्यसम्बन्धी व्यावहारिक जानकारी प्रदान गरिएको उहाँले बताउनुभयो। कार्यक्रममा इनरव्हिल क्लबका संस्थापक अध्यक्ष, पूर्वअध्यक्षहरू, बोर्ड सदस्य, क्लबका सदस्य, मातृशक्ति आमा समूहका पदाधिकारी तथा सदस्य, टोल विकास संस्थाका प्रतिनिधि र स्थानीय महिलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा क्लबकी सचिव सुधा न्यौपानेले पनि आफ्नो धारणा राख्नुभएको थियो । 
 

प्रतिकृया दिनुहोस