उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार पुनः सञ्चालन हुने
बुटवल, भदौ ५
नेपाल पत्रकार महासंघ रुपन्देहीको समन्वयमा उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार पुनः सञ्चालन हुने भएको छ । अग्रज पत्रकार नारायणप्रसाद सापकोटाले जलवायु, वातावरण तथा पर्यावरण क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाई वार्षिक २५ हजार रुपैयाँ नगदसहित पुरस्कृत गर्ने गरी महासंघको समन्वयमा उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार स्थापना गरेका हुन् । उक्त पुरस्कार केही वर्ष रोकिएर पुनः सञ्चालनमा आउन लागेको हो । शुक्रबार नेपाल पत्रकार महासंघका संस्थापक केन्द्रीय सदस्यसमेत रहेका सापकोटा र पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले संयुक्त रूपमा हस्ताक्षर गरी उक्त पुरस्कार सञ्चालन गर्ने घोषणा गरेका हुन् ।
पुरस्कार कोषका लागि अग्रज पत्रकार सापकोटाले पाँच वर्षको रकम एकमुष्ट १ लाख २५ हजार रुपैयाँ पत्रकार महासंघसँगको संयुक्त खातामा जम्मा गर्ने गरी चेक हस्तान्तरणपछि भन्नुभयो, “आज विश्वको वातावरण मानव जीवनका लागि चुनौतीपूर्ण बन्दै गएको छ । पत्रकारहरूले वातावरण, जलवायु र पर्यावरणका मुद्दा सशक्त रूपमा उठाउन प्रोत्साहन गर्न जरुरी छ । यो पुरस्कार वातावरण क्षेत्रमा कलम चलाउने पत्रकारलाई प्रदान गरिनेछ ।”
नेपाल पत्रकार महासंघ रुपन्देहीको सहकार्यमा २०६३ सालमा स्थापना भएको उक्त पुरस्कार केही वर्ष रोकिएर पुनः नयाँ ढंगले सञ्चालन हुन लागेकोमा खुसी लागेको महासंघका अध्यक्ष दिनेश पाण्डेले बताउनुभयो । अध्यक्ष पाण्डेले भन्नुभयो, “नेपाल पत्रकार महासंघ रुपन्देहीसँग धेरै पुरस्कारहरू छन् । तिनलाई व्यवस्थित गर्ने क्रममा हामीले केही वर्ष वितरण गर्न रोकिएको उत्कृष्ट पत्रकारिता पुरस्कारलाई नयाँ सम्झौता गरेर नयाँ ढंगले सञ्चालन गरेका छौँ ।”
उक्त पुरस्कार प्रत्येक वर्ष वैशाख १ गतेदेखि चैत मसान्तसम्म प्रकाशित पाँचवटा रिपोर्ट, समाचार तथा फिचरलाई मूल्याङ्कन गरी हरेक वर्ष विश्व वातावरण दिवसका दिन पुरस्कार वितरण गरिने गरी निर्देशिका तयार गरिएको महासंघका सचिव सी।पी। खनालले बताउनुभयो । पुरस्कारका लागि नेपाल पत्रकार महासंघ रुपन्देहीको सदस्यता नवीकरण गरेको हुनुपर्ने अनिवार्य प्रावधानसमेत निर्देशिकामा राखिएको छ ।
नेपाल पत्रकार महासंघले २०६३ सालदेखि वितरण गर्दै आएको उक्त पुरस्कार अहिलेसम्म शेरबहादुर के.सी., छवि पाण्डे, लक्ष्मण पोखरेल, लक्ष्मण पौडेल , टीआर शर्मा, तेजेन्द्र के.सी. र दिनेश पाण्डेले प्राप्त गरिसकेका छन् । बीचमा विशेष कारणवश रोकिएको उक्त पुरस्कार अबका दिनमा थप व्यवस्थित गर्ने गरी नेपाल पत्रकार महासंघले निर्देशिका बनाएर अगाडि बढाएको हो ।२०२९ सालदेखि पत्रकारिता सुरु गरेका पुरस्कारका संस्थापक अग्रज पत्रकार सापकोटाको सम्पादकत्वमा वि.सं.२०३१ सालदेखि २०६० सालसम्म मुक्ति सन्देश दैनिक भैरहवाबाट प्रकाशन हुने गरेको थियो ।
वि.सं. २०४७ सालदेखि वातावरण बचाउ आन्दोलनको अध्यक्ष भएर काम गरेका सापकोटाले सोही अभियानमार्फत रुपन्देही एफएम पनि सञ्चालन गर्नुभएको छ । काठमाडौं बाहिर बसेर तीन दशकदेखि निरन्तर पत्रकारिता गर्दै आउनुभएका अग्रज पत्रकार सापकोटाले वातावरण क्षेत्रमा विशेष योगदान पुर्याउनुभएको छ ।





प्रतिकृया दिनुहोस