राममणि बहुमुखी क्याम्पसले अन्तर्राष्ट्रिय सम्मेलन गर्दै

रुपन्देही, भदौ ५

अनुसन्धान व्यवस्थापन समिति, राममणि बहुमुखी क्याम्पस, तिलोत्तमा–५, मणिग्राम, रुपन्देहीले भोलि र पर्सि (भदौ ६ र ७ गते अर्थात् अगस्ट २२ र २३, २०२६) दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ।‘Emerging Perspectives in Social Sciences and Pedagogical Opportunities in Pursuit of Excellence’ अर्थात् ‘उत्कृष्टताको खोजीमा सामाजिक विज्ञानका उदीयमान दृष्टिकोण तथा शैक्षिक अवसरहरू’ विषयवस्तुमा आयोजना हुने सम्मेलनमा नेपालसहित भारत, फिलिपिन्स र मलेसियाका विश्वविद्यालय तथा शैक्षिक क्षेत्रका विज्ञहरूको सहभागिता रहनेछ।

सम्मेलनको उद्घाटन सत्रमा त्रिभुवन विश्वविद्यालयका कार्यवाहक रजिस्ट्रार तथा व्यवस्थापन संकायका डिन प्रा। डा। महानन्द चालिसे प्रमुख अतिथि एवं मुख्य वक्ताका रूपमा सहभागी हुनुहुने कार्यक्रम रहेको छ। त्यस्तै, भारतको दीनदयाल उपाध्याय गोरखपुर विश्वविद्यालय, गोरखपुरका समाजशास्त्र विभागका प्रमुख प्रा। डा। अनुराग द्विवेदी तथा फिलिपिन्सको अब्रा स्टेट इन्स्टिच्युट अफ साइन्सेस एन्ड टेक्नोलोजीका प्राध्यापक डा। एलेक्सिस ए। एनरिक्वेज मुख्य वक्ताका रूपमा सहभागी हुनुहुनेछ।सम्मेलन बिहान ९ बजेदेखि मणिग्रामस्थित विश्राम वाटिकामा सञ्चालन हुनेछ। उद्घाटन सत्रमा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाण विशेष अतिथिका रूपमा सहभागी हुनुहुने कार्यक्रम रहेको छ।

उद्घाटन सत्रमा शिक्षाविद्, प्राध्यापक, अनुसन्धानकर्ता, सरकारी प्रतिनिधि, उद्योगी–व्यवसायी, क्याम्पसका पूर्व तथा वर्तमान पदाधिकारी, शिक्षक, कर्मचारी, विद्यार्थी तथा विभिन्न शैक्षिक संस्थाका प्रतिनिधिहरूको सहभागिता रहनेछ। सम्मेलनमा विद्यार्थीहरूद्वारा सांस्कृतिक प्रस्तुतिसमेत गरिनेछ।सम्मेलनका क्रममा व्यवस्थापन, सामाजिक विज्ञान र शिक्षाशास्त्रका समसामयिक विषयमा मुख्य वक्ताका प्रस्तुति, प्यानल छलफल तथा सरोकारवालासँगको अन्तरक्रिया सञ्चालन गरिनेछ।

क्याम्पसको अनुसन्धान व्यवस्थापन समितिले आयोजना गर्न लागेको यस सम्मेलनले व्यवस्थापन, सामाजिक विज्ञान, शिक्षाशास्त्र तथा उच्च शिक्षाका क्षेत्रमा भइरहेका अनुसन्धान, नयाँ शैक्षिक दृष्टिकोण तथा उत्कृष्टताका लागि आवश्यक अवसर र सम्भावनाबारे अन्तर्राष्ट्रियस्तरमा ज्ञान, अनुभव तथा विचार आदानप्रदान गर्ने महत्वपूर्ण मञ्च प्रदान गर्ने अपेक्षा गरिएको सम्मेलन संयोजक डा। अशोक भण्डारीले जानकारी दिनुभयो।

प्रतिकृया दिनुहोस