पाल्पामा अटो दुर्घटना हुँदा ६ जना घाइते

पाल्पा, कात्तिक ९

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३, भुवनपोखरीस्थित बल्घामा अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।बल्घादेखि मुझुङको कटौजेपानीतर्फ जाँदै गरेको लु.प्र. ०१००१ ह २४४४ नम्बरको अटो सोमबार बिहान ११ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो।

दुर्घटनामा परी रैनादेवी छहरा गाउँपालिका–३, भुवनपोखरीका २४ वर्षीय फर्सबहादुर नेपाली, ३८ वर्षीया यमकला खाम्चा, २५ वर्षीया बसन्ती बराल, ३२ वर्षीया हरिकला सारू, २५ वर्षीया मन्जु दर्लामी र ६ वर्षीय ईजन खाम्चा घाइते भएका छन्।

घाइतेमध्ये ईजनको अवस्था सामान्य रहेको छ भने अन्यको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। यद्यपि, सबै घाइते खतरामुक्त रहेको प्रहरी नायब उपरीक्षक भट्टराईले बताउनुभयो।घाइते सबैको युनाइटेड मिसन अस्पताल तानसेनमा उपचार भइरहेको छ।

अटो अनियन्त्रित भई कच्ची सडकबाट अन्दाजी १५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

प्रतिकृया दिनुहोस
↑