कपिलवस्तुको कृष्णनगरका २६१ परिवारलाई लालपूर्जा वितरण
कपिलवस्तु,२० कात्तिक
कपिलवस्तुको कृष्णनगर नगरपालिकाका २६१ परिवारले लामो प्रतीक्षापछि गाउँब्लक जग्गाको जग्गाधनी दर्ता प्रमाणपूर्जा (लालपूर्जा) पाएका छन् । कृष्णनगर नगरपालिका र नापी कार्यालय तौलिहवा, कपिलवस्तुको संयुक्त आयोजनामा कृष्णनगर नगरपालिका–९ मा आयोजित कार्यक्रममा वडा नं १, ७ र ९ का जग्गाधनीलाई लालपूर्जा वितरण गरिएको हो ।नगरपालिकाका अनुसार वडा नं १ का ७३, वडा नं ७ का ४९ र वडा नं ९ का १३९ परिवारले लालपूर्जा पाएका छन् । लामो समयदेखि जग्गा भोगचलन गर्दै आए पनि कानूनी स्वामित्वको प्रमाण नहुँदा विभिन्न समस्या झेल्दै आएका स्थानीयवासी लालपूर्जा पाएपछि खुसी भएका छन् ।
लालपुर्जा प्राप्त गर्ने ८० वर्षीया स्थानीय मधुरा कुर्मिनीले जीवनको उत्तरार्धमा भए पनि आफ्नो जग्गाको स्वामित्व प्रमाणित हुने कागजात पाउँदा खुसी लागेको बताउनुभयो । वडा नं ९ का स्थानीय छेदी अहिरले पाँच पुस्तादेखि भोगचलन हुँदै आएको जग्गाको लालपूर्जा अहिले आएर प्राप्त भएको बताउनुभयो ।
कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजतप्रताप शाहले गाउँब्लक जग्गाधनीलाई लालपूर्जा उपलब्ध गराउने कार्यलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताउनुभयो । लालपूर्जा प्राप्त भएपछि स्थानीयबासीको जग्गामाथिको कानूनी स्वामित्व सुरक्षित हुनुका साथै आर्थिक तथा सामाजिक गतिविधिमा सहज हुने उहाँको भनाइ छ ।
नगरपालिकाभित्र रहेका गाउँब्लक जग्गाधनी सबैलाई क्रमशः प्रमाणपूर्जा उपलब्ध गराउने कामलाई निरन्तरता दिइने नगर प्रमुख शाहले बताउनुभयो । बाँकी जग्गाको दर्ता प्रक्रियासम्बन्धित निकायसँग समन्वय गरी छिटो सम्पन्न गर्न पहल गरिने उहाँले जानकारी दिनुभयो ।
नगर प्रमुख शाहले कृष्णनगर बजार, बहादुरगञ्ज बजार र सिर्सिहवामा रहेका बहाल बिटौरी जग्गाको लालपूर्जा वितरणका लागि पनि प्रक्रिया अघि बढाइने बताउनुभयो । त्यसका लागि अध्यादेश आइसकेको र आयोग गठन भएपछि लालपूर्जा वितरणको काम अगाडि बढाइने उहाँको भनाइ छ ।
नापी कार्यालय तौलिहवाका प्रमुख जनक भण्डारीले गाउँब्लक जग्गाको नापजाँच तथा दर्ता प्रक्रिया पूरा गरी प्रमाणपूर्जा वितरण गरिएको जानकारी दिनुभयो । २०७० सालमा नापी गरिएको जग्गाको प्रमाणपूर्जा वितरण गर्न सफल भएको उल्लेख गर्दै उहाँले पूर्जामा जग्गाधनीको नाम, कित्ता नम्बर, क्षेत्रफललगायत विवरण ध्यानपूर्वक जाँच गर्न आग्रह गर्नुभयो ।
प्रमाणपूर्जामा कुनै विवरण त्रुटिपूर्ण भए सम्बन्धित कार्यालयमा सम्पर्क गरी सच्याउन सकिने उहाँले बताउनुभयो ।

.jpeg)



प्रतिकृया दिनुहोस