रुपन्देही उद्योग संघमा दीपावली, तिहार र छठको शुभकामना आदानप्रदान

बुटवल, कात्तिक २० 

शुभ दीपावली, तिहार, नेपाल संवत् तथा छठ पर्व २०८३ को अवसरमा रुपन्देही उद्योग संघले शुक्रबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।संघको आयोजनामा सम्पन्न कार्यक्रममा सहभागी वक्ताहरूले नेपाली मौलिक संस्कृति, परम्परा र पहिचानका रूपमा रहेका चाडपर्वले समाजमा आपसी सद्भाव, एकता, सहिष्णुता र भाइचाराको सम्बन्धलाई थप बलियो बनाउने बताएका छन् ।

कार्यक्रममा संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले चाडपर्व केवल रमाइलो र उत्सव मनाउने अवसर मात्र नभई आपसी सम्बन्ध सुमधुर बनाउने, दुःख–सुख साटासाट गर्ने र सामाजिक एकता कायम गर्ने महत्वपूर्ण अवसरसमेत भएको बताउनुभयो ।उहाँले स्वदेशी उत्पादनको प्रवर्द्धन, उद्योगमैत्री वातावरण निर्माण र औद्योगिक क्षेत्रका समस्याहरूको समाधानका लागि सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गर्दै सम्पूर्ण उद्योगी, व्यवसायी तथा आम नेपालीमा सुख, शान्ति, समृद्धि र सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा संघका पूर्वअध्यक्षहरू गणेश अधिकारी र बाबुराम बोहोरा, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष नरिश्वर पौडेल, नेपाल औषधि व्यवसाय संघ रुपन्देहीका अध्यक्ष पुरुषोत्तम भट्टराई, बुटवल औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष उपेन्द्र अग्रवाल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल, रुपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकाल तथा मणिमुकुन्दसेन उद्यान संरक्षण समिति बुटवलका अध्यक्ष माधवप्रसाद नेपालले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

वक्ताहरूले नेपाली मौलिक संस्कृति, परम्परा र चाडपर्वको संरक्षण तथा प्रवर्द्धनमा सबैको साझा भूमिका आवश्यक रहेको बताउँदै चाडपर्वले सामाजिक सद्भाव, एकता र सहकार्यको भावनालाई अझ बलियो बनाउने धारणा राख्नुभएको थियो ।सोही अवसरमा बुटवल उद्योग वाणिज्य संघ, नेपाल औषधि व्यवसाय संघ तथा मणिमुकुन्दसेन उद्यान संरक्षण समिति बुटवलका नवनिर्वाचित पदाधिकारीहरूलाई टीका तथा माला लगाएर बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो ।

 

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष जीवकान्त काफ्लेले स्वागत मन्तव्य व्यक्त गर्दै चाडपर्वले सामाजिक एकता, सद्भाव र आत्मीयता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले उद्योगी व्यवसायीबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप मजबुत बनाउन यस्ता कार्यक्रमले सहयोग पुग्ने धारणा राख्नुभयो ।कार्यक्रममा विभिन्न संघसंस्थाका अध्यक्षहरू, रुपन्देही उद्योग संघका सल्लाहकार, पदाधिकारी, कार्यसमिति सदस्य तथा वस्तुगत समितिका संयोजकहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन संघका महासचिव सुमन बस्यालले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस
↑