तिलोत्तमामा लैङ्गिक हिंसाविरुद्ध संवाद, कानुन कार्यान्वयनमा जोड

बुटवल,मंसिर १०

लैङ्गिक हिंसा अन्त्यका लागि पीडितको संरक्षण, न्यायको सुनिश्चितता र दण्डहीनताको अन्त्य गर्न कानुनको प्रभावकारी कार्यान्वयन तथा सरोकारवाला निकायबीच समन्वय आवश्यक रहेकोमा जोड दिइएको छ।लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान  सुरु भएको सन्दर्भमा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले विषयगत संवाद कार्यक्रम आयोजना गरेको छ।

नगरपालिकाको आयोजनामा बुधबार सम्पन्न कार्यक्रममा रुपन्देही जिल्लामा लैङ्गिक हिंसाको अवस्था, हिंसा न्यूनीकरणका लागि बनेका नीति तथा कानुनी व्यवस्था, तिनको कार्यान्वयनको अवस्था र आगामी कार्ययोजना तथा प्रतिबद्धताबारे छलफल गरिएको थियो। तिलोत्तमा नगरपालिकाको सभाहलमा भएको कार्यक्रमको तिलोत्तमा नगरपालिकाका उपप्रमुख एवं कार्यक्रमका अध्यक्ष जागेश्वरी देवी चौधरीले पानसमा दीप प्रज्वलन गरी उद्द्घाटन गर्नुभएको हो । 
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत इन्द्रदत्त सापकोटाले स्वागत गर्दै अभियानको उद्देश्य र लैङ्गिक हिंसाविरुद्ध सामूहिक प्रयासको आवश्यकताबारे प्रकाश पार्नुभएको थियो। तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरी देवी चौधरी, सरकारी वकिल गोविन्द पन्थी, अधिकारकर्मी एवं अधिवक्ता इन्दिरा आचार्य र जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक कल्पना घर्ती सहभागी रहनुभएको लैंगिक संबाद कार्यक्रमको सहजीकरण रेडियो लुम्बिनि तथा तिलोत्तमा टेलिभिजनका  स्टेशन म्यानेजर बिन्दु भट्टराईले गर्नु भएको थियो ।

लैंगिक संवादमा सरकारी वकिल पन्थीले लैङ्गिक हिंसासम्बन्धी कानुनी व्यवस्था र न्यायिक प्रक्रियाबारे, अधिवक्ता आचार्यले पीडितको न्यायमा पहुँच र अधिकार संरक्षणका विषयमा तथा प्रहरी निरीक्षक घर्तीले हिंसाका घटनाको उजुरी, अनुसन्धान र पीडितको संरक्षणमा प्रहरीको भूमिकाबारे धारणा राख्नुभएको थियो। त्यसैगरी उपप्रमुख चौधरीले स्थानीय सरकारबाट लैङ्गिक हिंसा रोकथाम तथा न्यूनीकरणका लागि भइरहेका प्रयास, पीडितको संरक्षण र आगामी योजनाबारे आफ्नो धारणा राख्नुभएको थियो।

संवादका क्रममा लैङ्गिक हिंसाविरुद्ध बनेका नीति तथा कानुनको प्रभावकारी कार्यान्वयन, पीडितमैत्री सेवा, न्यायमा सहज पहुँच, विभिन्न निकायबीच समन्वय र हिंसा न्यूनीकरणका लागि आगामी दिनमा गर्नुपर्ने काम तथा प्रतिबद्धताबारे छलफल गरिएको थियो। प्यानलिस्टहरूबीचको छलफलपछि कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूले समेत प्रश्न, जिज्ञासा र सुझाव राखेका थिए। सहभागी र प्यानलिस्टबीच प्रश्नोत्तर तथा प्रत्यक्ष संवादसमेत भएको थियो।
तिलोत्तमा नगरपालिकाको आयोजना एवं लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजनाको सहकार्यमा भएको कार्यक्रमको संचालन महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सम्झना भण्डारीले गर्नु भएको थियो ।परियोजनाले तिलोत्तमा नगरपालिकामा लैङ्गिक हिंसा न्यूनीकरण, हिंसापीडितको संरक्षण, आवश्यक सेवा तथा न्यायमा पहुँच अभिवृद्धि र सरोकारवाला निकायबीच समन्वयका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ। स्थानीय तहमा लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकारका लागि एकीकृत प्रयासलाई प्रभावकारी बनाउनु परियोजनाको मुख्य उद्देश्य रहेको छ।

प्रतिकृया दिनुहोस
↑