बुटवलमा शुक्रबारदेखि खाना महोत्सव : निःशुल्क प्रवेशको व्यवस्था
बुटवल,मंसिर १०
मौलिक खानाका परिकारमार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बुटवलमा शुक्रबारदेखि खाना महोत्सव आयोजना हुने भएको छ।होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ, रूपन्देहीको आयोजनामा बुटवल उपमहानगरपालिका–११ देवीनगरस्थित रंगशालामा हुने महोत्सवको तयारी पूरा भएको आयोजकले जनाएको छ। संघले बिहीबार पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी गराएको हो।
चार दिनसम्म सञ्चालन हुने महोत्सवमा ५० भन्दा बढी खानाका स्टल रहनेछन्। ती स्टलमा थारू, नेवारी, मगर, थकालीलगायत विभिन्न जातजातिका मौलिक खानाका परिकार उपलब्ध हुने महोत्सव संयोजक तथा संघका अध्यक्ष माधवकुमार खनालले जानकारी दिनुभयो।नेपाली मौलिक खानाको स्वादसँगै कला र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको उहाँले बताउनुभयो। महोत्सवमा दर्शकका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। साथै, खाद्य स्वच्छता र सरसफाइमा विशेष ध्यान दिइने आयोजकले जनाएको छ।
महोत्सवमा दुई लाख दर्शक सहभागी हुने र एक करोड ५० लाख रुपैयाँ बराबरको कारोबार हुने आयोजकको अपेक्षा छ।संघका वरिष्ठ उपाध्यक्ष अर्जुन थापाले खाना महोत्सव बुटवलको पहिचान र ब्रान्डका रूपमा स्थापित भइसकेको बताउनुभयो। महोत्सव हरेक दिन साँझ ४ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछ। महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारका सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ।
महोत्सवको उद्घाटन बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले गर्नुहुने कार्यक्रम छ। उद्घाटनअघि बुटवलका विभिन्न स्थानबाट झाँकीसहित सहभागीहरू महोत्सवस्थल पुग्नेछन्।बुटवलमा २०७५ सालदेखि निरन्तर सडक खाना महोत्सव आयोजना हुँदै आएको छ। मौलिक खानाका परिकारको संरक्षण, प्रवर्द्धन र पर्यटन विकासमा योगदान पुर्याउने उद्देश्यले महोत्सव आयोजना गरिँदै आएको आयोजकले जनाएको छ।





प्रतिकृया दिनुहोस