रंगमञ्चमार्फत सामाजिक रूपान्तरणमा सक्रिय कृण्णा थापा
बुटवल,मंसिर १०
रंगकर्मी कृण्णा थापाले चलचित्र तथा अभिनय क्षेत्रमार्फत पनि समाजमा सकारात्मक सोचको विकास र लैङ्गिक समानता कायम गर्न महत्वपूर्ण योगदान पु¥याउन सकिने बताउनुभएको छ।महिला समानताका लागि सञ्चार अभियानद्वारा सञ्चालित ‘महिलाहरूको सामूहिक आवाज’ कार्यक्रमअन्तर्गत सामुदायिक रेडियो मुक्ति बुटवलको ‘समय सन्दर्भ विशेष’ कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो।
थापाले लैङ्गिक हिंसा अन्त्यका लागि घर, परिवार र समाज सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो। महिलाहरू आर्थिक रूपमा सशक्त हुन सके विभिन्न प्रकारका हिंसा न्यूनीकरण हुनुका साथै परिवारको आधारसमेत बलियो बन्ने उहाँको भनाइ छ।विगत १८–१९ वर्षदेखि बुटवलमा चलचित्र तथा अभिनय क्षेत्रमा सक्रिय रहँदै आउनुभएका थापाले टोल विकास संस्थादेखि सहकारी क्षेत्रको नेतृत्वसम्म रहेर सामाजिक गतिविधिमा योगदान पु¥याउँदै आउनुभएको छ।
महिला र पुरुषसँगै यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका नागरिकले पनि समाजमा समान रूपमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने उहाँले बताउनुभयो। यसका लागि तीनै तहका सरकार, सामाजिक संघसंस्था र नागरिक एकजुट भएर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो।गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका–आरुपोखरामा जन्मिनुभएकी कृष्ण थापाले बुटवललाई आफ्नो कर्मथलो बनाएर सामाजिक तथा सांस्कृतिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ।
व्यावसायिक जीवनको सुरुवात शिक्षण पेसाबाट गर्नुभएकी थापा त्यसपछि महिला तथा बालबालिकाको संरक्षणको क्षेत्रमा गैरसरकारी संस्थामार्फत जोडिनुभएको थियो। सामाजिक क्षेत्रमा सक्रिय रहँदै उहाँ बुटवल उपमहानगरपालिका–११ को टोल विकास संस्थामा समेत आबद्ध हुनुभएको छ। बुटवललाई कर्मक्षेत्र बनाएर उहाँले ‘तेली सिरियल झटारो’, ‘माउन्टेन फिल्म्स’ तथा विभिन्न सर्ट मुभीहरूमा अभिनय गर्नुभएको छ। विशेषगरी आमा र सासूको भूमिकामा उहाँको अभिनय बढी देख्न पाइन्छ।
शिक्षण, सामाजिक सेवा, सहकारी र अभिनय क्षेत्रलाई एकसाथ अगाडि बढाउँदै आउनुभएकी कृष्ण थापा बुटवल क्षेत्रकी सक्रिय तथा स्थापित रंगकर्मी हुनुहुन्छ।रेडियो मुक्ति बुटवलले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानलाई केन्द्रित गर्दै दैनिकजसो ‘समय सन्दर्भ विशेष’ कार्यक्रम सञ्चालन गर्दै आएको छ। कार्यक्रम हरेक दिन बिहान ७ः३० देखि ८ बजेसम्म प्रसारण हुँदै आएको छ। कार्यक्रमको सञ्चालन पत्रकार अस्मिना पाण्डेले गर्नुभएको थियो। यस बर्ष “लैङ्गिक हिंसा अन्त्यका लागि एकताबद्ध बनौँ :पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता‘ भन्ने राष्ट्रिय नाराका साथ मंसिर ९ गतेदेखि २४ गतेसम्म मनाईदैछ ।





प्रतिकृया दिनुहोस