बुटवलमा शौचालयको फोहोरबाट जैविक मल उत्पादन, मासिक १० टन मल बजारमा
बुटवल, मंसिर १०
सहरी क्षेत्रमा फोहोर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गइरहेका बेला बुटवलमा शौचालयबाट निस्कने फोहोर र गाईवस्तुको गोबर प्रशोधन गरी जैविक मल उत्पादन गर्न थालिएको छ।बुटवल सेनिटरी प्रालिअन्तर्गत नेपाल बायो कम्पोस्टले शौचालयजन्य फोहोरलाई स्रोतका रूपमा उपयोग गर्दै जैविक मल उत्पादन गरिरहेको हो। बुटवलको फोहोर व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले सुरु गरिएको यस अभियानले शौचालयबाट निस्कने फोहोरको उचित व्यवस्थापनसँगै कृषि प्रयोजनका लागि उपयोगी मल उत्पादन गरिरहेको छ।
कम्पनीले घरघरका शौचालयबाट संकलन हुने फोहोरलाई गाईवस्तुको गोबरसँग मिसाएर प्रशोधन गर्ने गरेको छ। मेसिनको सहायताले फोहोरबाट ठोस पदार्थ छुट्याइन्छ। त्यसपछि वनमारा, धुलो, पिना, हड्डीको धुलो, निम तथा सुर्तीको धुलो र ब्याक्टेरियाको विकासमा सहयोग गर्ने ईएम मिसाएर करिब ४५ दिनसम्म कुहाउने प्रक्रिया अपनाइन्छ। यसरी तयार भएको मललाई सुनवलस्थित प्रयोगशालामा परीक्षण गरेपछि प्याकेजिङ गरी बजारमा पठाउने गरिएको छ।
नेपाल बायो कम्पोस्टका अध्यक्ष यामबहादुर थापाका अनुसार कम्पनीले पछिल्लो एक वर्षदेखि मासिक करिब १० टन जैविक मल उत्पादन गर्दै आएको छ। उत्पादित मल एक, पाँच र २५ किलोका प्याकेटमा बजारमा बिक्री वितरण भइरहेको छ। यसले रासायनिक मलको विकल्पका रूपमा जैविक मलको प्रयोग बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कम्पनीले दैनिक करिब ३२ हजार लिटर शौचालयजन्य फोहोर संकलन तथा व्यवस्थापन गर्दै आएको जनाएको छ। यसका लागि रामनगर सामुदायिक वनसँग सम्झौता गरी २०७८ सालदेखि काम सुरु गरिएको हो। तत्कालीन अध्यक्ष क्याप्टेन किशन थापाको कार्यकालमा सामुदायिक वनको साधारणसभाबाट निर्णय भएपछि परियोजना अघि बढाइएको थियो।
तीन वर्षका लागि गरिएको सम्झौताअनुसार कम्पनीले सामुदायिक वनलाई मासिक ३५ हजार रुपैयाँ भाडा र मल बिक्रीबाट हुने नाफाको ५० प्रतिशत उपलब्ध गराउने सहमति गरेको थियो। पाँच कट्ठा क्षेत्रफलमा सञ्चालन भइरहेको परियोजनामा एक लाख लिटर क्षमताको ट्रिटमेन्ट प्लान्टसमेत निर्माण गरिएको छ।
अध्यक्ष थापाका अनुसार प्लान्ट निर्माणमा करिब तीन करोड रुपैयाँ र सडक निर्माणमा २५ लाख रुपैयाँ खर्च भएको छ। लकडाउनका कारण परियोजना सञ्चालनमा विभिन्न समस्या आए पनि अहिले यसलाई उद्योगका रूपमा स्थापित गर्दै लगिएको उहाँले बताउनुभयो। यसबाट स्थानीयस्तरमा रोजगारी सिर्जना हुनुका साथै फोहोर व्यवस्थापनको क्षेत्रमा नयाँ अभ्यास सुरु भएको उहाँको भनाइ छ।
यस परियोजनाले जैविक मल उत्पादनसँगै वन संरक्षणमा समेत योगदान पुर्याएको छ। वन क्षेत्रमा जथाभावी फोहोर फाल्ने र आगलागीको जोखिम बढाउने गतिविधि नियन्त्रण गर्न सहयोग पुगेको बताइएको छ। वन क्षेत्रमा संकलित जैविक पदार्थलाई समेत उपयोग गर्दै मल उत्पादन गरिएकाले फोहोरको पुनःप्रयोग र वन संरक्षणलाई सँगसँगै अघि बढाइएको छ।
.jpg)
यद्यपि, परियोजना सञ्चालनमा नीतिगत तथा कानुनी समस्या भने कायमै छन्। राष्ट्रिय वन अनुसन्धानअन्तर्गतको क्षेत्रमा सञ्चालन भइरहेको परियोजनामा भोगाधिकार तथा जग्गा व्यवस्थापनसम्बन्धी स्पष्ट नीतिगत व्यवस्था नहुँदा दीर्घकालीन सञ्चालनमा चुनौती देखिएको छ।
स्थानीय सरकारले गर्नुपर्ने शौचालयजन्य फोहोर व्यवस्थापनको काम निजी क्षेत्रले लगानी र प्रयासमार्फत गरिरहेको अवस्थामा यस्ता उद्योगलाई नीतिगत सहजीकरण र प्रोत्साहन आवश्यक देखिएको छ।
फोहोरलाई समस्याका रूपमा मात्र नभई स्रोतका रूपमा उपयोग गर्न सकिन्छ भन्ने उदाहरण नेपाल बायो कम्पोस्टले प्रस्तुत गरेको छ। उचित सरकारी नीति, प्राविधिक सहयोग र बजार व्यवस्थापन हुन सके यस्ता परियोजनाले सहरी फोहोर व्यवस्थापनसँगै वातावरण संरक्षण, रोजगारी सिर्जना र दिगो कृषि प्रणालीमा समेत महत्त्वपूर्ण योगदान पुर्याउन सक्ने देखिन्छ।





प्रतिकृया दिनुहोस