स्थानीय तहमा दलित महिलाको नेतृत्वदायी सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड

पाल्पा, मंसिर १० 
स्थानीय तहमा दलित महिलाको सहभागिता मात्र नभई नेतृत्वदायी भूमिका सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ। दलित महिलाहरू अझै पनि जातीय, लैङ्गिक तथा सामाजिक विभेदको मारमा रहेको र जनप्रतिनिधि बने पनि निर्णय प्रक्रियामा उनीहरूको नेतृत्व कमजोर रहेको भन्दै नेतृत्व विकासमा ध्यान दिनुपर्नेमा जोड दिइएको हो।जागरण मिडिया सेन्टरले बिहीबार तिनाउ गाउँपालिकाका निर्वाचित दलित कार्यपालिका सदस्य तथा दलित महिला वडा सदस्यहरूसँग आयोजना गरेको छलफलमा सहभागीहरूले दलित महिलाको नेतृत्व सशक्त बनाउन राजनीतिक दल तथा स्थानीय सरकारले जिम्मेवारी निर्वाह गर्नुपर्ने बताएका छन्।

कार्यक्रममा संविधानसभा सदस्य तथा जागरण मिडिया सेन्टरका अध्यक्ष कमला विश्वकर्माले दलित महिलाहरू जातीय, लैङ्गिक तथा सामाजिक विभेदको मारमा रहेको उल्लेख गर्दै अब नेतृत्वसहितको सहभागिता आवश्यक रहेको बताउनुभयो। महिलालाई नेतृत्वमा स्थापित गर्न राजनीतिक दलहरूले समेत जिम्मेवारी निर्वाह गर्नुपर्ने उहाँको भनाइ थियो।तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले गाउँपालिकाले दलित सशक्तीकरणसम्बन्धी ऐन निर्माण गरी दलित समुदायको अधिकार सुनिश्चित गर्ने प्रयास गरेको बताउनुभयो।

गाउँपालिकाका उपाध्यक्ष लालबहादुर थापाले दलित, जनजाति तथा महिलाका क्षेत्रमा बजेट विनियोजन गरेर काम भइरहेको जानकारी दिनुभयो। उहाँले शिक्षामा सुधार तथा समुदायको अधिकार सुनिश्चित गर्न सबै पक्ष एकजुट भएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो।कार्यपालिका सदस्य सन्तोष परियारले विषयगत समितिमा दलित समुदायको सहभागिता नरहेको बताउँदै दलित सशक्तीकरण विधेयक ल्याउन निकै कठिनाइ भएको अनुभव सुनाउनुभयो।

त्यस्तै, कार्यपालिका सदस्य छविलाल गहतराजले दलित सशक्तीकरण विधेयक निर्माणका लागि जागरण मिडिया सेन्टरले छलफल कार्यक्रम आयोजना गरेर सकारात्मक दबाब सिर्जना गरेको बताउनुभयो। उहाँले तिनाउका धेरै ठाउँमा अझै पनि विभेद कायम रहेको उल्लेख गर्नुभयो।छलफलमा वडा नं। १ की वडा सदस्य रुपा विक, वडा नं। २ की वडा सदस्य शान्ति विक र वडा नं। ३ की वडा सदस्य पूजा दमाईले सुरुमा वडा सदस्यको भूमिकाबारे पर्याप्त जानकारी नभए पनि क्रमशः सिक्दै जनताको सेवामा सक्रिय भएको अनुभव सुनाउनुभयो।

स्थानीय अगुवा रामबहादुर कौसल र प्रेम विश्वकर्माले दलित समुदायको अधिकार स्थापित गर्ने सवालमा सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो।कार्यक्रमको उद्देश्यबारे जागरण मिडिया सेन्टरका लुम्बिनी प्रदेश प्रमुख विनोद परियारले प्रकाश पार्नुभएको थियो। कार्यक्रमको सञ्चालन पत्रकार कृष्ण दर्नालले गर्नुभएको थियो।कार्यक्रमपछि वडा नं। ४ की वडा सदस्य कमला विकको संयोजकत्वमा दलित महिला तिनाउ गाउँ सञ्जाल गठन गरिएको छ। सञ्जालमा दलित कार्यपालिका सदस्यहरू सल्लाहकार तथा दलित महिला वडा सदस्यहरू सदस्य रहनेछन्।

दलित महिला जनप्रतिनिधिहरूका अनुभव र चुनौतीलाई साझा रूपमा उठाउँदै स्थानीय तहमा दलित महिलाको संगठित नेतृत्व विकास तथा अधिकार सुनिश्चित गर्ने उद्देश्यले सञ्जाल गठन गरिएको जनाइएको छ।

प्रतिकृया दिनुहोस
↑