अपाङ्गता भएका ५० महिलालाई विपद् सचेतना तालिम
बुटवल,मंसिर १०
अपाङ्गता महिला संघ रुपन्देहीको आयोजनामा अपाङ्गता भएका महिलाका लागि दुईदिने विपद् सचेतना तालिम बुटवलमा सम्पन्न भएको छ ।जलवायु उत्थानशीलता परियोजनाअन्तर्गत संघले अपाङ्गता भएका ५० जना महिलालाई विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा विपद्का समयमा अपनाउनुपर्ने सुरक्षा सावधानीका विषयमा तालिम प्रदान गरेको हो ।
कार्यक्रममा संघका अध्यक्ष कल्पना ढकालले सहभागीलाई स्वागत गर्दै विपद्अघि, विपद्को समयमा र विपद्पश्चात् अपनाउनुपर्ने सुरक्षाका विषयमा अपाङ्गता भएका महिलाको सूचनामा पहुँच अभिवृद्धि गर्नु तालिमको मुख्य उद्देश्य रहेको बताउनुभयो । उहाँले विपद्का समयमा अपाङ्गता भएका महिलाले भोग्नुपर्ने जोखिम न्यूनीकरणका लागि आवश्यक जानकारी र सीप प्रदान गर्न कार्यक्रम आयोजना गरिएको उल्लेख गर्नुभयो ।

परियोजना संयोजक वसन्त भट्टले जलवायु परिवर्तनका असर, अपाङ्गता भएका महिलाले भोग्नुपर्ने चुनौती तथा त्यसको समाधानका उपायबारे सहजीकरण गर्नुभएको थियो । उहाँले स्थानीय सरकारसँग संवाद र सहकार्य गर्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा अपाङ्गता भएका महिलाको सहभागिता र पहुँच कसरी बढाउन सकिन्छ भन्ने विषयमा समेत प्रशिक्षण दिनुभएको थियो ।
बुधबार र बिहीबार गरी दुई दिनसम्म सञ्चालन भएको तालिममा सहभागीहरूबीच समूहगत छलफल तथा नमुना अभ्याससमेत गरिएको आयोजक संस्थाले जनाएको छ । तालिमले अपाङ्गता भएका महिलालाई विपद्का समयमा सुरक्षित रहने उपायबारे जानकारी दिनुका साथै विपद् व्यवस्थापनमा उनीहरूको सहभागिता र क्षमता अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।





प्रतिकृया दिनुहोस