यौनिक तथा लैङ्गिक अल्पसंख्यकको अधिकार सुनिश्चित गर्न विनोद बीसीको जोड
बुटवल,मंसिर १०
यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अधिकार सुनिश्चित गर्न राज्य र समाज दुवै जिम्मेवार बन्नुपर्नेमा अधिकारकर्मीहरूले जोड दिँदै आएका छन् । संविधानले सबै नागरिकलाई समानताको हक प्रदान गरे पनि यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले अझै पनि सामाजिक विभेद, अपहेलना, हिंसा र अवसरको असमानता भोग्नुपरेको अवस्था छ ।
यही विषयलाई उठान गर्दै बुटवलमा रहेको रेडियो मुक्तिले लैङ्गिक हिंसा न्यूनीकरणका विषयमा विभिन्न व्यक्तित्वसँग दैनिक रूपमा विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ ।
कार्यक्रमको तेस्रो दिन समावेशी मञ्च नेपालका प्रदेश संयोजक तथा यौनिक तथा लैङ्गिक अल्पसंख्यक अधिकारकर्मी विनोद बीसीले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अधिकार, समानता र राजनीतिक सहभागिताको विषयमा आफ्नो धारणा राख्नुभएको छ ।
उहाँले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले पनि अन्य नागरिकसरह सम्मानपूर्वक बाँच्न पाउने, आफ्नो पहिचानअनुसार जीवनयापन गर्न पाउने तथा शिक्षा, स्वास्थ्य, रोजगारी र राज्यका विभिन्न निकायमा समान अवसर पाउनुपर्ने बताउनुभयो ।समाजमा अझै पनि लैङ्गिक तथा यौनिक पहिचानका आधारमा विभेद, दुव्र्यवहार र हिंसा हुने गरेको उल्लेख गर्दै उहाँले यस्ता व्यवहारको अन्त्यका लागि सबैले आफ्नो सोच र व्यवहारमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले आफू पनि कसैमाथि लैङ्गिक हिंसा नगर्ने र हिंसामा परेमा त्यसविरुद्ध खुलेर आवाज उठाउन तथा प्रतिकार गर्न आग्रह गर्नुभयो ।
त्यस्तै, आगामी स्थानीय तहको निर्वाचनमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको राजनीतिक सहभागिता पनि समान रूपमा सुनिश्चित हुनुपर्ने उहाँको भनाइ छ । राजनीतिक दलहरूले यस समुदायलाई उम्मेदवारी, नेतृत्व र निर्णय प्रक्रियामा सहभागी गराउनुपर्ने उहाँले बताउनुभयो ।उहाँले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई दया वा सहानुभूतिको दृष्टिले नभई समान अधिकार भएका नागरिकका रूपमा स्वीकार गर्नुपर्ने धारणा राख्नुभयो।
समाजमा सबैको पहिचान, अस्तित्व र अधिकारको सम्मान गर्ने वातावरण निर्माण भए मात्रै लैङ्गिक हिंसा न्यूनीकरण र समतामूलक समाज निर्माण सम्भव हुने उहाँले बताउनुभयो । कार्यक्रमको संचालन कल्पना तिवारीले गर्नुभएको थियो । यस बर्ष “लैङ्गिक हिंसा अन्त्यका लागि एकताबद्ध बनौँ ःपीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता‘ भन्ने राष्ट्रिय नाराका साथ मंसिर ९ गतेदेखि २४ गतेसम्म मनाईदैछ ।





प्रतिकृया दिनुहोस