सुरु भयो बुटवल खाना महोत्सव, पर्यटनबाट आर्थिक समृद्धि हासिल गर्न सकिनेमा जोड

बुटवल, मंसिर ११

मौलिक खानाका परिकार पस्किने उद्देश्यसहित बुटवलमा पाँचदिने खाना महोत्सव सुरु भएको छ । होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ, रूपन्देहीको आयोजनामा बुटवल उपमहानगरपालिका–११ देवीनगरस्थित खुलामञ्चमा खाना महोत्सव सुरु भएको हो ।महोत्सवको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्नुभयो । उहाँले बुटवललाई पर्यटकीय क्षेत्रका रूपमा पहिचान गराउँदै आर्थिक रूपमा चलायमान बनाउन सकिने सम्भावना रहेको बताउनुभयो । बुटवलका राम्रा र सबल पक्षको पहिचान गरी तिनको प्रचारप्रसारमार्फत विकासलाई अघि बढाउन सकिने उहाँको भनाइ थियो ।

कार्यक्रममा होटल तथा रेस्टुरेन्ट व्यवसायी महासंघका केन्द्रीय महासचिव राजेश महतराले महासंघको सप्ताहव्यापी स्थापना दिवस चलिरहेको जानकारी दिनुभयो । सहरमा भौतिक विकास भए पनि व्यवसायीको अवस्था भने अपेक्षाअनुसार सुधार हुन नसकेको उहाँले बताउनुभयो । होटल व्यवसायीलाई साझेदारीका रूपमा अघि नबढाउँदा पर्यटन क्षेत्र सफल हुन नसक्ने उल्लेख गर्दै उहाँले होटल व्यवसायीबिना पर्यटनको विकास सम्भव नहुने धारणा राख्नुभयो ।

बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले महोत्सवलाई खानाका परिकारको स्वाद लिने र मनोरञ्जन गर्ने उत्कृष्ट स्थलका रूपमा विकास गर्न सुझाव दिनुभयो । खुलामञ्चलाई व्यवस्थित बनाउने उद्देश्य राखिए पनि अपेक्षाअनुसार काम हुन नसकेको उहाँले बताउनुभयो । उहाँले महोत्सवमा खानाका विभिन्न परिकारका स्टल राख्नसमेत सुझाव दिनुभयो ।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष लेखनाथ भण्डारीले कालिका पथलाई रात्रिकालीन बजारका रूपमा विकास गर्ने अवधारणा स्थानीय पालिकामार्फत अघि बढाइएको भए पनि कार्यान्वयनमा समस्या देखिएको बताउनुभयो । खाना महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएकाले सबै वर्ग र समूहका नागरिकलाई सहज भएको उहाँको भनाइ थियो ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं। ११ का वडाध्यक्ष रामचन्द्र खनाल, नेपाल पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष दिनेश पाण्डेय तथा वरिष्ठ सल्लाहकार माधव नेपालले व्यवसायलाई अनुशासित र मर्यादित बनाउनुपर्नेमा जोड दिनुभयो ।

संघका अध्यक्ष माधवकुमार खनालले विभिन्न स्थानमा आयोजना हुँदै आएको खाना महोत्सवको पछिल्लो संस्करण खुलामञ्चमा आइपुगेको बताउनुभयो । उहाँले खुलामञ्चलाई स्थायी कार्यक्रमस्थलका रूपमा विकास गर्न सकिने धारणा राख्नुभयो ।

महोत्सवको उद्घाटनका अवसरमा सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो । यसैबीच, महोत्सवको अवसरमा आयोजित र्‍यालीमा सहभागी विभिन्न संघसंस्थालाई सम्मानपत्र प्रदान गरी सम्मान गरिएको संघका महासचिव केशव कँडेलले जानकारी दिनुभयो ।देशभर होटल तथा रेस्टुरेन्ट क्षेत्रमा ८५ हजार व्यवसायी आबद्ध रहेको पनि संघले जनाएको छ ।

प्रतिकृया दिनुहोस
↑