मधेशी समुदायका महिला तथा किशोरीमा अझै परिवर्तन आवश्यक : चौधरी
बुटवल , मंसिर १२
राष्ट्रिय महिला आयोगका पूर्व सदस्य तथा मधेशी समुदायकी अधिकारकर्मी धनेश्वरी चौधरीले मधेशी समुदायका महिला तथा किशोरीको अवस्था परिवर्तन गर्न अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभएको छ। समुदायमा विद्यमान हानिकारक मूल्य–मान्यता, परम्परागत सोच र विभिन्न कुप्रथाका कारण महिला तथा किशोरीहरू अझै पनि पछाडि परेको उहाँले बताउनुभयो।
महिला समानताका लागि सञ्चार अभियानद्वारा सञ्चालित सामुदायिक रेडियो मुक्ति ९५.५ को ‘समय सन्दर्भ विशेष’ कार्यक्रममा बोल्दै चौधरीले महिला वा पुरुष जुनसुकै वर्गका व्यक्ति पनि हिंसा सहेर बस्न नहुने बताउनुभयो।
उहाँले हिंसाको प्रतिकार गर्न र आफू पनि हिंसा नगर्न आग्रह गर्दै सबै समुदायका नागरिकलाई समान विकासको अवधारणामा केन्द्रित गरी चरणबद्ध रूपमा विकासका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। लामो समयदेखि मधेशी समुदायको अधिकारका लागि आवाज उठाउँदै आउनुभएकी चौधरीले लैङ्गिक हिंसा महिलाको मात्र विषय नभई समग्र समाज र राज्यको साझा सरोकारको विषय भएको उल्लेख गर्नुभयो।
महिलाहरूले आफ्नो नेतृत्व क्षमता विकास गर्दै दृढताका साथ अगाडि बढ्नुपर्ने उहाँको भनाइ छ। महिलाहरू फुर्सदको समय खेर नफाली विभिन्न सीप, क्षमता र नेतृत्व विकासमा लाग्नुपर्ने उहाँले सुझाव दिनुभयो। विभिन्न सङ्घर्ष र चुनौतीलाई पार गर्दै घरपरिवारको जिम्मेवारी निर्वाहसँगै महिलाहरू नेतृत्व तहमा पुग्न सक्ने उहाँले बताउनुभयो। महिलाहरू राजनीतिक, सामाजिक र आर्थिक रूपमा अगाडि आउन सके परिवारलाई सहयोग पुग्नुका साथै समाजमा समानता कायम गर्नसमेत मद्दत पुग्ने उहाँको भनाइ छ।
यस वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० अर्थात् मङ्सिर ९ देखि २४ गतेसम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भइरहेको छ। यस बर्ष “लैङ्गिक हिंसा अन्त्यका लागि एकताबद्ध बनौँ : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता‘ भन्ने राष्ट्रिय नाराका साथ मंसिर ९ गतेदेखि २४ गतेसम्म मनाईदैछ ।अभियानका क्रममा सरकारी तथा गैरसरकारी सङ्घसंस्थाहरूले विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरिरहेका छन्।
कार्यक्रम ‘समय सन्दर्भ विशेष’ को आजको अङ्क पत्रकार अस्मिना पाण्डेले सञ्चालन गर्नुभएको थियो।





प्रतिकृया दिनुहोस