तिलोत्तमा मेलामा दर्शकको ध्यान खिचेको ‘विजयासार’को गिलास

तिलोत्तमा, मंसिर ११
रुपन्देहीको तिलोत्तमामा जारी औद्योगिक व्यापार मेलामा विभिन्न औद्योगिक उत्पादन, घरेलु सामग्री र नयाँ प्रविधिसँगै विजयासारको काठबाट बनेको गिलासले पनि दर्शकको ध्यान खिचेको छ । प्राकृतिक काठबाट तयार गरिएको यो गिलास स्वास्थ्यप्रति चासो राख्ने अवलोकनकर्ताका लागि आकर्षण बनेको छ ।तिलोत्तमा उद्योग वाणिज्य संघको आयोजनामा ‘उद्योग, कृषि, प्रविधि र पर्यटनमा लगानी ः दिगो आर्थिक विकासका लागि चौथो तिलोत्तमा राष्ट्रिय प्रदर्शनी’ नारासहित मंसिर ३ गतेदेखि सञ्चालित मेलामा गुल्मीको रेसुङ्गा नगरपालिकास्थित इना सप्लायर्सले उत्पादन गरेको विजयासारको गिलास प्रदर्शनी तथा बिक्रीका लागि राखिएको छ ।

मेलामा रहेका करिब ३२५ स्टलमध्ये यसले परम्परागत जडीबुटी र प्राकृतिक सामग्रीमा रुचि राख्ने दर्शकको ध्यान तानेको छ ।विजयासार (प्टेरोकार्पस मार्सुपियम) लाई औषधीय गुण भएको वनस्पति मानिन्छ । आयुर्वेदमा यसको काठलाई विभिन्न स्वास्थ्य समस्यामा उपयोगी मानिँदै आएको छ । यही काठबाट बनाइएको गिलासमा पानी राखेर पिउने चलन पनि पछिल्लो समय बढ्दै गएको छ ।आयुर्वेदिक मान्यताअनुसार विजयासारको प्रयोगले रगतमा चिनीको मात्रा नियन्त्रण, खराब कोलेस्ट्रोल घटाउन तथा पाचन प्रणाली सुधारमा सहयोग पु¥याउन सक्छ । त्यस्तै, यसमा पाइने एन्टिअक्सिडेन्ट तत्त्वले छालाको स्वास्थ्य सुधार र शरीरमा हुने सूजन कम गर्न सहयोग गर्ने उत्पादन कम्पनीले जनाएको छ । कम्पनीका अनुसार जोर्नी दुखाइ, बाथ तथा कलेजोको स्वास्थ्यमा पनि यसको उपयोगिता छ ।

प्राकृतिक काठबाट बनेको गिलास भएकाले यसको वातावरणमैत्री पक्षले समेत उपभोक्ताको ध्यान आकर्षित गरेको छ । प्लास्टिक तथा कृत्रिम सामग्रीको प्रयोग घटाउँदै प्राकृतिक वस्तुको प्रयोग गर्न चाहनेका लागि यो एउटा विकल्प हुन सक्छ।विजयासारको गिलास तथा अन्य सामग्री इना सप्लायर्सले उत्पादन गर्दै आएको मेलाको स्टलका प्रतिनिधि नारायण पोखरेलले बताउनुभयो ।

मेलामा व्यापारिक गतिविधिसँगै उद्यमशीलता, पर्यटन, संस्कृति र मनोरञ्जनलाई समेत जोडिएको मेला मूल आयोजक समितिका संयोजक तथा तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीले बताउनुभयो ।मेलामा पशुपतिनाथ मन्दिर, लुम्बिनी, मुक्तिनाथ र जनकपुरधामका कलात्मक संरचना, रामायण शो, तिलोत्तमा आरती तथा पर्यटन ग्यालरी पनि दर्शकका आकर्षण बनेका छन् । आयोजकले मेलामा पाँच लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरेको छ ।
 

प्रतिकृया दिनुहोस
↑